'जनै हराएको मान्छे' मा देखिएको विजयको कोरिया सपना

काठमाडौं : फिल्म 'पूर्णबहादुरको सारंगी'को सफलतासँगै अहिले अभिनेता विजय बराल हाइ डिमान्डको कलाकारको सूचीमा छन्। प्राय सहयोगी भूमिकामा अभिनय गर्दै आएका उनी अब लगालग मुख्य भूमिकामा देखिँदै छन्। त्यही सूचीको फिल्ममध्ये ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजरमा उनी वृद्ध बालाई गाउँमा छाडेर कोरिया जाने सपनामा काठमाडौंमा रुमल्लिएको पात्रमा देखिएका छन्।
टिजरमा विजयसँगै अभिनेत्री केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली र विजयको बुबाको भूमिकामा भोलाराज सापकोटा देखिएका छन्। पहिला फिल्मको नाम जनै हराएको बाहुन राखिएको थियो। तर जातीय नाम भएको भन्दै विरोध भएपछि नाम बदलेर ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ राखियो। यसका निर्देशक हिमाल न्यौपाने हुन्। फिल्म भदौ ६ मा रिलिज हुँदैछ।
फिल्ममा रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारको अभिनय रहेको छ। पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।
असार ३१, २०८२ मंगलबार १६:२२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।