कालीगण्डकीमा ४२ मिटर लामो बेलिब्रिज जडान, छैरो-चिमाङ जोडियो

कालीगण्डकीमा ४२ मिटर लामो बेलिब्रिज जडान, छैरो-चिमाङ जोडियो

मुस्ताङ : घरपझोङ गाउँपालिका-१ र २ लाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ।

करिब दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त बेलिब्रिजले छैरो र चिमाङ गाउँका स्थानीयलाई ठूलो राहत पुगेको छ।

बेलिब्रिज निर्माणका लागि संघीय विशेष अनुदानमार्फत १ करोड ९७ लाख र गाउँपालिकाबाट ९० लाख रुपैयाँ लागत साझेदारीमा गरी कुल २ करोड ८७ लाख २६ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए।

४२ मिटर लामो र ४.२० मिटर चौडा उक्त बेलिब्रिजको निर्माण कार्य रविचक्र निर्माण सेवाले जिम्मा लिएको थियो।

राष्ट्रिय गौरवको बेनी-जोमसोम राजमार्ग नजिकै भए पनि कालीगण्डकी पारिका गाउँहरू सडक सञ्जालबाट टाढा रहेका कारण यो पुल निर्माणले यातायात सहज भएको घरपझोङ-१ का वडाध्यक्ष आशबहादुर थकालीले बताए।

असार ३१, २०८२ मंगलबार १४:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।