ओली नेतृत्वको सरकारमा दोस्रो अडियो घुस काण्ड, राजीनामा भयो, अनुसन्धान भएन

ओली नेतृत्वको सरकारमा दोस्रो अडियो घुस काण्ड, राजीनामा भयो, अनुसन्धान भएन

काठमाडौं : एमाले अध्यक्ष  केपी ओलीको नेतृत्वको सरकारमा दोस्रो पटक अडियो घुसको अडियो सार्वजनिक हुँदा दुई मन्त्रीले राजीनामा दिए।

उनी प्रधानमन्त्री भएकै बेलामा तत्कालीन सूचनामन्त्री गोकुल बास्कोटाको घुसको अडियो सार्वजनिक भएको थियो। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुसको अडियो बाहिरिएपछि उनले राजीनामा दिएका थिए। सो घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरे पनि त्यो अझै टुङ्गिएको छैन।

स्वीटजरल्याण्डको केबीए–नोटासिस एसएको नेपाल प्रतिनिधि विजयप्रकाश मिश्रले बास्कोटासँगको साढे दुई मिनेटको घुसको अडियो सार्वजनिक गरेका थिए। त्यसको भोलिपल्ट बास्कोटाले ‘आफ्नो बारेमा प्रश्न उठेकाले' भन्दै नैतिकताको आधारमा राजीनामा दिएका थिए।

अहिले ओली नेतृत्वकै सरकारमा एमालेबाट मन्त्री भएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सङ्घीय मामिला उनले मंगलबार राजीनामा दिए।

कर्मचारी नियुक्ति र सरुवामा घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका उनले मंगलबार प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाए।

कर्मचारी सरुवामा भएको बार्गेनिङमा उनीसँगै भूमिसुधारमन्त्री बलराम अधिकारी, र पूर्व भूमिसुधार मन्त्री रञ्जिता चौधरी समेत जोडिएका छन्। अडियो सार्वजनिक हुनु अगाडि घुस लिएको रकमको नोट नम्बर र अडियोसहित अख्तियारमा उजुरी परेको थियो। उजुरीबारे अख्तियारले के गरिरहेको छ सार्वजनिक भएको छैन।

अडियो घुस काण्डमा राजीनामा दिनेहरू
सुदूरपश्चिमका उद्योगमन्त्री लक्ष्मणकिशोर चौधरीको लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए। दिगो वन विकाससँग सम्बन्धित विषयमा लेनदेनको छलफलबारेको अडियो बाहिरिएको थियो। अडियो बाहिरिएपछि उनले नैतिकताको आधारमा भन्दै राजीनामा दिए।

इन्जिनियरिङ कलेजको विवाद मिलाउन घुस रकम लिएको अडियो र भिडियो सार्वजनिक भएपछि अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए। उनीमाथि अख्तियारले छानबिन समेत गरेको थियो। भक्तपुरको एक इन्जिनियरिङ कलेजको लगानी सम्बन्धी विवाद मिलाउन उनले एक पक्षसँग घुस रकम लिएको अडियो र भिडियो सार्वजनिक भएको थियो।

लगत्तै उनले आयोगको आयुक्तबाट राजीनामा दिए भने आयोगले छानबिन गरेर मुद्दा विशेष अदालतमा लगेको थियो। स्वास्थ्यमन्त्री बन्न पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद ढाकाप्रसाद श्रेष्ठले राजीनामा दिएका थिए।

घुसको पाँच घटना सार्वजनिक भए पनि पाठक बाहेक अन्यको हकमा अख्तियारले प्रभावकारी अनुसन्धान गरेको छैन। बास्कोटाबारेको अनुसन्धान निकै अगाडि पुगे पनि अख्तियार मौन छ। सांसदको रुपमा ढाकाकुमार श्रेष्ठले गरेको गतिविधि पनि अख्तियार अन्तर्गत पर्ने भए पनि उसले वास्तै गरेन। 

असार ३१, २०८२ मंगलबार १४:२२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।