‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु’ भन्ने शाहीको भनाइ संसदको रेकर्डबाट हटाउन एमालेको माग

‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु’ भन्ने शाहीको भनाइ संसदको रेकर्डबाट हटाउन एमालेको माग
फाइल तस्बिर

काठमाडौं : प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको नाम जोडेर दिएको अभिव्यक्तिको विषयलाई लिएर सत्ताधारी दल एमालेले संसदमा नियमापत्ति जनाएको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा एमालेकी सचेतक सुनिता बरालले उक्त अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेकी हुन्।

राप्रपा सांसद शाहीले ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बरालले भनिन्, ‘पूर्ववक्ता माननीयले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको नामै उच्चारण गरेर टिप्पणी गर्नुभयो, यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ। यो विषय संसदको रेकर्डबाट हटाइनुपर्छ।’

बरालले भ्रष्टाचारको आरोप लागेका मन्त्रीमाथि कारबाही हुनुपर्नेमा आफ्नो दल स्पष्ट रहेको बताइन्।

‘मन्त्रीको नामसँग जोडेर अडियो सार्वजनिक भएको थियो। त्यो कारबाहीको विषय होला। हामी पनि गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा उभिएका छौँ,’ उनले भनिन्, ‘तर, एकजना व्यक्तिको विषयलाई लिएर सिंगो नेतृत्वमाथि आरोप लगाउने र समग्र सरकार र देशकै बदनाम गराउने प्रयास भएको छ।’

सांसद शाहीले देशलाई ‘भ्रष्टाचारीहरूको देश’ भनेर नामकरण गर्न गरेको व्यङ्ग्यप्रति लक्षित गर्दै बरालले यस्ता अभिव्यक्तिले गलत मनोविज्ञान स्थापित गर्न खोजेको बताइन्।

‘देशको नामकरण नै फरक तरिकाले गर्ने, परिचय नै फरक तरिकाले दिने भनेर जुन मनोविज्ञान स्थापित गर्न खोजिँदैछ, यो विषय गलत छ,’ उनले भनिन्, ‘संसद यस्ता गलत प्रवृत्ति र मानकहरु स्थापित गर्नका लागि होइन।’

सांसद शाहीले सरकारका कारण देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमै खस्किएको बताएका थिए।

उनले भनेका थिए, ‘अब गिनिज बुकमा नाम लेखाउनुस्- नेपाल सगरमाथाको देश, भगवान गौतम बुद्धको देश मात्र होइन, अब भ्रष्टाचारीहरूको पनि देश हो भनेर तपाईंको सरकारले नाम लेखाउनुस्।’

असार ३१, २०८२ मंगलबार १३:५५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।