न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा आउनु : सांसद शाही

न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा आउनु : सांसद शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकार भ्रष्टाचारमा डुबेको भन्दै तीखो आलोचना गरे।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रीक्वाटरमा पैसा बुझेको प्रकरणमा मुछिएका मन्त्रीको राजीनामाले मात्र नपुग्ने भन्दै तत्काल पक्राउ गरी छानबिन गर्न माग गरे।

शाहीले व्यङ्ग्यात्मक शैलीमा भने, ‘पहिले ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु भन्ने उखान थियो, तर अब भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु भन्ने नयाँ उखान बनेको छ।’

सरकारका  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले घुस लिएको अडियो बाहिरएसँगै राजीनामा दिएका मन्त्रीले राजीनामा दिँदैमा उन्मुक्ति पाउन नहुने उनको भनाइ छ।

शाहीले भने, ‘मन्त्रीक्वाटरमा पैसा दिएको मन्त्रीले राजीनामा दिएर मात्रै सुख पाइन्छ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्।’

उनले सो प्रकरणमा अन्य मन्त्रीहरूको समेत नाम आएकाले उनीहरूमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने माग राखे।

उनले भ्रष्टाचार नियन्त्रणका लागि बनेका संवैधानिक र सरकारी निकायको भूमिकामाथि पनि प्रश्न उठाए।

उनले अगाडि थपे, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा के हेरेर बसेको छ? नेपाल सरकारको गृह मन्त्रालयभित्र रहेका भ्रष्टाचार नियन्त्रण युनिटहरूले के हेरिरहेका छन्?’

सरकारका कारण देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमै खस्किएको उनको भनाइ थियो।

‘अब गिनिज बुकमा नाम लेखाउनुस्- नेपाल सगरमाथाको देश, भगवान गौतम बुद्धको देश मात्र होइन, अब भ्रष्टाचारीहरूको पनि देश हो भनेर तपाईंको सरकारले नाम लेखाउनुस्’, शाहीले भने।

शाहीले बहालवाला मन्त्रीको अडियो टेप काण्ड र भिजिट भिसामा हुने गरेको ‘सेटिङ’ जस्ता प्रकरण सार्वजनिक हुँदा पनि सरकार मौन बसेको भन्दै आलोचना गरे। उनले यस्ता गम्भीर विषयमा सरकारले तत्काल कदम नचालेकोमा आपत्ति जनाए।

असार ३१, २०८२ मंगलबार १३:४२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।