घुस काण्ड आएपछि मन्त्रीले राजीनामा दिएछन्, गृहमन्त्रीको नैतिकता कहिले जाग्ने? : सांसद नेपाली

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको नैतिकता कहिले जाग्ने भन्दै प्रश्न गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले आफूहरूको आवाजलाई बेवास्ता गर्दै पेलेको र तस्करीमा संलग्नलाई संरक्षण दिएको भन्दै गृहमन्त्रीको राजीनामा र निष्पक्ष छानबिन समितिको माग गरेका हुन्।
सांसद नेपालीले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ। भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीजस्तो गम्भीर विषय सदनभित्र निरन्तर उठाइरहँदा भोटेकोशी नदीको बाढीले हाम्रो पीडा झनै बढाएको छ।’
उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको आरोपपछि दिएको राजीनामा सकारात्मक भए पनि पर्याप्त नभएको बताए।
‘यतिले मात्र हुँदैन, अरु मन्त्रीहरू पनि पोलिएका छन्। यो गम्भीर विषयमा सत्यतथ्यको छानबिन हुनुपर्छ र दोषीउपर यथाशक्य छिटो कारबाही होस्’, उनले भने।
सांसद नेपालीले मानव तस्करी प्रकरणको मुख्य जडका रूपमा गृहमन्त्रीलाई औँल्याउँदै प्रश्न गरे, ‘अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको आरोपमा प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो? त्यो पदको यत्रो लोभ किन हो? छानबिन समिति कहिले बन्ने हो?’
रास्वपाले मानव तस्करी र नागरिक शोषणविरुद्ध आवाज उठाएको ४९ दिन भइसकेको स्मरण गराउँदै उनले सरकारले विगतमा जस्तै अहिले पनि समिति बनाएर सत्य लुकाउने र अपराध ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाए।
उनले २०७८ माघमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बनेको कार्यदलको प्रतिवेदन कर्मचारी र राजनीतिक दलको भूमिकामा मौन बसेको समेत टिप्पणी गरे।
आफूहरू जिम्मेवार प्रतिपक्ष भएको र जनताको आवाज उठाउनु आफ्नो दायित्व भएको बताउँदै सांसद नेपालीले सदन सुचारु राख्न संवादको ढोका खुला राखेको स्पष्ट पारे।
‘विपद व्यवस्थापन, मानव तस्करी नियन्त्रण र भ्रष्टाचारविरुद्ध देशले अब नतिजा खोजिरहेको छ। सरकार गम्भीर बनोस्, संवाद सुरु गरोस् र सदन उत्तरदायी बनोस्,’ उनले भने, ‘तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ।’
असार ३१, २०८२ मंगलबार १३:३५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।