कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ : जिल्लाको घरपझोङ गाउँपालिका-२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो।
बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु ९० लाख लागत साझेदारी गरी जम्मा रु दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए।
सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ। बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो।
राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ-१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरे।
असार ३१, २०८२ मंगलबार १२:५६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।