घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा, भने- ‘नखाएको विष लाग्यो’

काठमाडौं : ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
कर्मचारी नियुक्ति र सरुवामा घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका उनले मंगलबार प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएका हुन्। विपक्षी दलहरूले उनको राजीनामासँगै कारबाहीको माग गर्दै आएका थिए।
राजीनामा दिएपछि सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धानमा सहयोग गर्न पद त्याग गरेको बताएका छन्।
उनले लेखेका छन्, ‘विगत केही दिनदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको सिकार भएँ।’
उनले आफूलाई प्रविधिको प्रयोग गरेर फसाइएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
के थियो अडियोमा ?
सार्वजनिक भएको अडियो रेकर्डअनुसार, मन्त्री गुप्ताले गत पुस/माघमा नै काम गरिदिने वाचासहित केही रकम बुझिसकेको सुनिन्छ।
अडियोमा मुख्यतया कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिबारे छलफल भएको छ भने पोखराको जग्गासम्बन्धी कुराकानीको प्रसंग पनि जोडिएको छ।
यसका साथै, मन्त्री गुप्तामाथि विभिन्न आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र आफ्नो अनुकूल नभएमा अन्तर-मन्त्रालय सरुवा गरिदिने धम्की दिने गरेको आरोपसमेत लागेको छ।
आफ्नो फेसबुक पोस्टमा गुप्ताले भविष्यमा पार्टीले दिएको जिम्मेवारीलाई इमान र निष्ठाका साथ पूरा गर्ने बताएका छन्।
मन्त्री गुप्ताको राजीनामासँगै उनीमाथि लागेको आरोपबारे थप अनुसन्धानको बाटो खुलेको छ।
असार ३१, २०८२ मंगलबार ११:४८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।