अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थी मृत्यु

एजेन्सी : अमेरिकाको लुइजियाना राज्यमा भएको एक सवारी दुर्घटनामा परी लुइजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको निधन भएको छ। सोही दुर्घटनामा अन्य दुई विद्यार्थी गम्भीर घाइते भएका छन्।
जुलाई १४, २०२५ मा विश्वविद्यालयका अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेका हुन्। प्रहरीका अनुसार, दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।
लुइजियाना टेक युनिभर्सिटीका अध्यक्ष डा. जिम हेन्डरसनले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सप्ताहन्तमा भएको एक दुःखद सवारी दुर्घटनामा हामीले हाम्रा दुई अन्तर्राष्ट्रिय विद्यार्थी गुमाएका छौं। यी प्रिय विद्यार्थीहरूको निधनले सम्पूर्ण लुइजियाना टेक परिवार मर्माहत भएको छ। अन्य दुई विद्यार्थी गम्भीर घाइते भई अस्पतालमा उपचाररत छन्। हाम्रो प्रार्थना र समवेदना दुर्घटनामा परेका विद्यार्थीहरू र उनीहरूका प्रियजनहरूप्रति छ।’
डा. हेन्डरसनले यस कठिन घडीमा विद्यार्थीहरूलाई सहयोग गर्न विश्वविद्यालयले परामर्श सेवा उपलब्ध गराउने जानकारी दिए। विद्यार्थीहरूले केनी हलको कोठा नं ३३७ मा प्रत्यक्ष परामर्श लिन सक्नेछन् वा ३१८-२५७-२४८८ मा फोन गरेर समय लिन सक्नेछन्। साथै, अन्तर्राष्ट्रिय मामिला कार्यालयले आगामी दिनहरूमा एक स्मृति सभा आयोजना गर्ने र अन्तर्राष्ट्रिय विद्यार्थी समुदायलाई आवश्यक सहयोग गर्ने जनाएको छ।
दुर्घटना कसरी भयो?
लुइजियाना राज्य प्रहरीका अनुसार, यो दुर्घटना जुलाई १३, २०२५ को राति करिब ९ बजे अमेरिकी राजमार्ग ८० मा भएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार, यादवले चलाइरहेको २०१० मोडलको होन्डा एकर्ड कार भारी वर्षाको समयमा सडकबाट चिप्लिएर रूखमा ठोक्किन पुगेको थियो, त्यसपछि गाडीमा आगलागी भएको थियो।
चालक यादव र अर्का यात्रु ओलीको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो। गाडीमा सवार अन्य दुई घाइते यात्रुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
असार ३१, २०८२ मंगलबार ११:३४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।