कोराला नाका पूर्ण सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको प्रतिबद्धता

कोराला नाका पूर्ण सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको प्रतिबद्धता
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको व्यापार तथा पारवहनका लागि रणनीतिक महत्वको मुस्ताङस्थित कोराला नाकालाई आवश्यक सम्पूर्ण पूर्वाधारसहित पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

रसुवागढी नाकाको मितेरी पुल बाढीले बगाएपछि वैकल्पिक नाकाको चर्चा भइरहेका बेला प्रधानमन्त्रीले मुस्ताङका जनप्रतिनिधिसँग यस्तो बताएका हुन्।

सोमबार बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले माथिल्लो मुस्ताङमा विदेशी पर्यटकसँग लिइने ५०० डलरको शुल्कले पर्यटन व्यवसाय प्रभावित भएको भन्दै पुनर्विचार गर्न माग गरेको थियो।

साथै, कालीगण्डकी करिडोरको कागबेनी-कोरला सडक कालोपत्र गर्न र नाकामा भन्सार, अध्यागमन, सुरक्षा पोस्ट र सुक्खा बन्दरगाहजस्ता संरचना तत्काल निर्माण गर्न ध्यानाकर्षण गराएका थिए।

जनप्रतिनिधिका माग सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल प्रक्रिया अघि बढाउन आफ्नो सचिवालयलाई निर्देशन दिए। उनले आफ्नो कार्यकालमा बेनी-कोरला सडक निर्माण, मुक्तिनाथमा भारतीय प्रधानमन्त्रीको भ्रमण, स्याउ सुपर जोन र च्याङ्ग्रापालनजस्ता कामलाई प्राथमिकता दिएको स्मरण गराए।

हाल कागबेनी-कोरला सडकखण्डको ९७ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने केही स्थानमा पुल निर्माणको ठेक्का रद्द भएकाले पुनः प्रक्रिया सुरू गर्नुपर्ने अवस्था छ।

असार ३१, २०८२ मंगलबार ११:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।