७० वर्षपछि टेस्ट क्रिकेटमा दोस्रो सबैभन्दा कम स्कोर : बोल्यान्ड र स्टार्कको घातक बलिङमा अष्ट्रेलियाले जित्यो सिरिज

एजेन्सी : किंग्स्टन टेस्टको दोस्रो इनिङमा वेस्ट इन्डिजको टोली मात्र २७ रनमा अलआउट भएपछि अस्ट्रेलियाले १७६ रनको शानदार जित हासिल गरेको छ।
यो टेस्ट क्रिकेटको इतिहासमा दोस्रो सबैभन्दा कम स्कोर हो। यो प्रदर्शनसँगै वेस्ट इन्डिजले टेस्ट शृंखला पनि ३-० ले गुमाएको छ।
सन् १९५५ मा न्युजिल्यान्ड इंग्ल्यान्डविरुद्ध २६ रनमा अलआउट भएयता यो टेस्ट क्रिकेटको सबैभन्दा कम स्कोर हो। करिब ७० वर्षपछि टेस्ट क्रिकेटमा यति सानो स्कोर देखिएको हो।
कम स्कोरिङ रहेको यो खेलमा अस्ट्रेलियाले पहिलो इनिङमा २२५ रन बनाएको थियो भने वेस्ट इन्डिज १४३ रनमा समेटिएको थियो। दोस्रो इनिङमा अस्ट्रेलियाले १२१ रन जोड्दै वेस्ट इन्डिजलाई जितका लागि २०४ रनको लक्ष्य प्रस्तुत गर्यो।
स्टार्क र बोल्यान्डको घातक बलिङ
२०४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको ब्याटिङ अस्ट्रेलियाली बलरसामु निरीह साबित भयो। मिचेल स्टार्कले पहिलो ओभरमै तीन विकेट लिएर वेस्ट इन्डिजको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए।
बाँकी काम स्कट बोल्यान्डले पूरा गरे। बोल्यान्डले लगातार तीन बलमा जस्टिन ग्रिभ्स, शमर जोसेफ र जोमेल वारिकनलाई आउट गर्दै आफ्नो ह्याट्रिक पूरा गरे, जसले वेस्ट इन्डिजको इनिङलाई २७ रनमा सीमित गर्यो।
दोस्रो इनिङमा अस्ट्रेलियाका लागि मिचेल स्टार्कले मात्र ९ रन खर्चेर ६ विकेट लिए भने स्कट बोलान्डले ३ तथा जोश हेजलवुडले १ विकेट लिए।
वेस्ट इन्डिजका सात ब्याट्सम्यान शून्यमा आउट
वेस्ट इन्डिजका लागि यो खेल बिर्सनलायक रह्यो। टोलीका ७ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्, जसमा कप्तान रोस्टन चेस र ओपनर जोन क्याम्पबेल पनि थिए। उनीहरूबाहेक केल्भिन एन्डरसन, ब्रान्डन किंग, शमर जोसेफ, जोमेल वारिकन र जेडेन सिल्स पनि शून्यमा आउट भए। टोलीका लागि जस्टिन ग्रिभ्सले बनाएको ११ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।
स्टार्कको कीर्तिमानी प्रदर्शन र ४०० विकेट
आफ्नो १००औं टेस्ट खेलिरहेका मिचेल स्टार्कले यस खेलमा उत्कृष्ट प्रदर्शन गरे। उनले खेलमा कुल ८ विकेट (पहिलो इनिङमा २, दोस्रोमा ६) लिए र 'म्यान अफ द म्याच' घोषित भए। ३ खेलको शृंखलामा कुल १५ विकेट लिएका उनी ‘म्यान अफ द सिरिज’ पनि चुनिए।
यसै खेलको क्रममा स्टार्कले टेस्ट करियरमा ४०० विकेटको कोशेढुंगा पनि पार गरे। उनी यो उपलब्धि हासिल गर्ने चौथो अस्ट्रेलियाली बलर बनेका छन्। उनीभन्दा अगाडि शेन वार्न, ग्लेन म्याकग्राथ र नाथन लियोनले यो कीर्तिमान बनाएका छन्।
असार ३१, २०८२ मंगलबार १०:३४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।