राष्ट्रिय चलचित्र पुरस्कारमा पुरुषको वर्चस्व देखिएको भन्दै वर्षाको आपत्ति

काठमाडौं : चलचित्र विकास बोर्डद्वारा सोमबार प्रदान गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार-२०८१’ मा पुरुष कलाकार तथा प्राविधिकको वर्चस्व देखिएपछि अभिनेत्री वर्षा सिवाकोटीले असन्तुष्टि व्यक्त गरेकी छन्।
विशेषगरी ‘निर्णायक समिति प्रोत्साहन पुरस्कार’ पुरुष कलाकारलाई मात्रै प्रदान गरिएकोमा आपत्ति जनाउँदै उनले महिला कलाकारको योगदानलाई बेवास्ता गरिएको गुनासो गरेकी हुन्।
बोर्डका अध्यक्ष दिनेश डिसीलाई सामाजिक सञ्जालमा मेन्सन गर्दै उनले लेखेकी छन्, ‘लौ, नायकज्यूहरूलाई मात्रै प्रोत्साहन गर्नुहोस्। हामी महिला कलाकारहरूलाई प्रोत्साहन गर्ने अध्यक्ष कहिले पाउने हो?’
यो विषयले सामाजिक सञ्जालमा बहस समेत भएको छ।
पुरस्कार घोषणापछि अष्ट्रेलियामा रहेकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले आश्चर्य व्यक्त गर्दै लेखेकी छन्, ‘कहिलेकाहीँ त अचम्मका कुराहरू सुन्न पाइन्छ। वाह वाह वाह।’
यस्तै, फिल्म वितरक तथा निर्माता प्याट्रिक सुवेदीले पुरस्कार छनोटमा नातावाद हावी भएको आरोप लगाएका छन्।
उनले लेखे, ‘योगदानभन्दा नाता, प्रतिभाभन्दा पहुँचले जित्यो।’
सोमबार राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न पुरस्कार समारोहमा ‘खुश्मा’ बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासना सिंह ठकुरीले जित्नुबाहेक अधिकांश प्रमुख विधामा पुरुषले नै पुरस्कार हात पारे।
‘शाम्बाला’ उत्कृष्ट चलचित्र घोषित हुँदा सोही फिल्मबाट मीनबहादुर भाम उत्कृष्ट निर्देशक चुनिए। ‘पूर्णबहादुरको सारङ्गी’ बाट विजय बरालले उत्कृष्ट अभिनेताको पुरस्कार पाए भने ‘छक्का पञ्जा ५’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखनको अवार्ड जिते।
यसैगरी, ‘पुजार सार्की’ बाट भरत रेग्मी उत्कृष्ट सम्पादक र ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार घोषित भए। निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘पुजार सार्की’ बाट अभिनेता प्रदीप खड्कालाई प्रदान गरियो।
समारोहमा चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घ साधना सम्मान’ प्रदान गरियो। त्यसैगरी प्रेम सुब्बा, देविका वन्दना, दीर्घ गुरुङ, अनुप बराल, सुरक्षा पन्त, निखिल उप्रेती लगायतलाई ‘विशेष योगदान सम्मान’ दिइयो।
प्राविधिक श्रवण मास्केलाई मरणोपरान्त विशेष योगदान सम्मान प्रदान गरिएको थियो, जसको वि.सं. २०४६ मा ‘चिनो’ चलचित्रको छायाङ्कनका क्रममा निधन भएको थियो। ‘गालय् वन’ ले उत्कृष्ट आदिवासी/मातृभाषी चलचित्रको पुरस्कार जित्दा ‘चे (लिम्बु)’ र ‘दिलसरा (मगर)’ ले विशेष चलचित्र पुरस्कार पाए।
असार ३१, २०८२ मंगलबार ०९:५६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।