डकेटलाई आउट गरेपछि आक्रामक उत्सव मनाएकोमा सिराजलाई आईसीसीको कारबाही

डकेटलाई आउट गरेपछि आक्रामक उत्सव मनाएकोमा सिराजलाई आईसीसीको कारबाही

काठमाडौं : भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई इङ्गल्याण्डविरुद्धको तेस्रो टेस्टमा आईसीसीको आचारसंहिता उल्लङ्घन गरेकोमा कारबाही गरिएको छ। उनलाई म्याच फिको १५ प्रतिशत जरिवानाका साथै एक डिमेरिट पोइन्ट दिइएको छ।

लर्ड्समा भएको टेस्टको चौथो दिन, इङ्गल्याण्डका ब्याट्सम्यान बेन डकेटलाई आउट गरेपछि सिराजले आक्रामक शैलीमा उत्सव मनाएका थिए। यो आईसीसी आचारसंहिताको लेभल-१ उल्लङ्घन हो, जुन खेलाडीको खेल भावनाविपरीतको व्यवहारसँग सम्बन्धित छ।

आइतबार इङ्गल्याण्डको दोस्रो इनिङ्सको छैटौं ओभरमा सिराजले फालेको सर्ट बलमा बेन डकेट पुल गर्न खोज्दा मिड-अनमा जसप्रित बुमराहद्वारा क्याच आउट भए।

विकेट लिएलगत्तै सिराज डकेटतर्फ दौडिएर उनको काँधमा ठोक्किन पुगेका थिए, त्यसपछि फिल्ड अम्पायरले हस्तक्षेप गर्नुपरेको थियो। डकेट १२ रन बनाएर पभेलियन फर्किएका थिए।

खेल सकिएपछि सिराजले म्याच रेफ्री रिची रिचर्डसनसमक्ष आफ्नो गल्ती स्वीकार गरे। उनले प्रस्तावित सजाय स्वीकार गरेकाले कुनै औपचारिक सुनुवाइको आवश्यकता परेन।

मैदानी अम्पायर पल रेफेल र शरफुद-उद-दौला इब्ने शाहिद, तेस्रो अम्पायर अहसान रजा र चौथो अम्पायर ग्राहम लोयडले उनीविरुद्ध आरोप लगाएका थिए।

यो २४ महिनाको अवधिमा सिराजको दोस्रो डिमेरिट पोइन्ट हो। यसअघि उनले डिसेम्बर २०२० मा अष्ट्रेलियाविरुद्ध एडिलेड टेस्टमा यस्तै डिमेरिट पोइन्ट पाएका थिए। अब उनको कुल डिमेरिट पोइन्ट दुई पुगेको छ।

आईसीसीको नियमअनुसार, यदि कुनै खेलाडीले २४ महिनाभित्र चार वा सोभन्दा बढी डिमेरिट पोइन्ट पाएमा ती निलम्बन पोइन्टमा परिणत हुन्छन्। यसले खेलाडीलाई एक टेस्ट, वा दुई एकदिवसीय/टी-२० खेलका लागि प्रतिबन्ध लगाउन सक्छ।

डिमेरिट पोइन्ट खेलाडीको रेकर्डमा २४ महिनासम्म रहन्छ र त्यसपछि स्वतः हट्छ।

असार ३१, २०८२ मंगलबार ०८:२६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।