बबई नदीमा डुबेर बेपत्ता भएका दुई जनाको शव १० किलोमिटर तल भेटियो

दाङ : दाङको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर-७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो।
आज बबई गाउँपालिका-५ स्थित पुरन्धारा छहरा घुम्न गएका उनीहरू छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शव खोजी गर्ने क्रममा फेला परेको बताए।
मृतक दुवै जना तुलसीपुरको एक कलेजमा अध्ययनरत थिए। उनीहरू साथीहरूसँगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले जनाएको छ।
नुहाउन भनेर पहिले विधान नदीमा पसेपछि बगाएको थियो। साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए। त्यसपछि कुशल पनि बेपत्ता भएका थिए। उनीहरू बेपत्ता भएको खबर पाएलगत्तै जिल्लाबाट गोताखोरको टोली त्यस स्थानमा पठाइएको थियो। स्थानीयवासीको सक्रियतामा बेपत्ता दुवैजनाको खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानबाट १० किलोमिटर तल शव भेटिएको प्रहरीले जनाएको छ।
असार ३०, २०८२ सोमबार २१:५४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।