बहाना नेपाली फिल्मको विस्तार, रहर विदेश घुम्ने

बहाना नेपाली फिल्मको विस्तार, रहर विदेश घुम्ने
ai image

काठमाडौं : नेपालमा फिल्म रिलिज भएसँगै विदेशमा पनि प्रदर्शनको चर्चा चल्छ। अमेरिका, अष्ट्रेलिया, कोरिया हुँदै जापानसम्म फिल्म देखाइएको भनिन्छन्। तर ती फिल्म विदेशी दर्शकका लागि होइन, विदेशमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरी देखाइएका हुन्। यही मौकामा कलाकार र पत्रकारले विदेश घुम्ने रहर पनि पूरा गर्छन्। 

नेपालमा हलिउड, बलिउडदेखि कोरियन फिल्मसम्म राम्रै चल्छन्। बलिउडको प्रभाव त बढी नै छ। तर भारतका कलाकार नेपालमा आएर आफ्नो फिल्मको प्रचार गर्दैनन्, फिल्मले आफै बजार लिन्छ। तर नेपाली फिल्मकर्मी भने विदेशी भूमिमा गएर फिल्मको प्रचारको नाममा कार्यक्रम गर्छन्, फोटा खिचाउँछन्, अनि फर्किएर ‘बजार विस्तार’को गफ गर्छन्।

माल्टामा नेपाली फिल्म वितरण गर्दै आएका गणेश लामिछानेले नेपाली फिल्म विदेशीले नहेर्ने बताए। ‘नेपाली फिल्मलाई नेपालीले मात्रै हेर्छन्। विदेशीले कमै मात्रामा हेर्ने गरेका छन्। भाषाको चिजले गर्दा पनि र अरु कुराहरूले गर्दा पनि विदेशीहरूले नेपाली फिल्म हेर्दैनन्। जति पनि नेपाली फिल्महरू हामीले लगाउँछौँ,त्यो सबै नेपाली दर्शकले मात्रै हेर्ने गरेका छन्।’

उनका अनुसार नेपाली भाषा नबुझेकै कारण नेपाली फिल्म नहेरिएको हो। नेपाली फिल्म अंग्रेजीमा भएको भए या सबटाइटलसम्म हुने हो भने विदेशीको आकर्षण बढ्ने उनको भनाई छ। उनले भने,‘नेपाली दर्शक बाहेक फिल्म हेर्ने विदेशी २,३ जना बाहेक कोही पनि हुँदैनन्।’

यता जापानमा नेपाली फिल्मको वितरणको जिम्मा लिँदै आएका सचिन आचार्यले विदेशीले मात्र होइन नेपाली नै नेपाली फिल्म हेर्न छाडेको बताए। उनले कुराकानीका क्रममा नेपाली फिल्मको दर्शक एकदमै घटेर गएको बताए। 

उनले भने,‘जापानमा नेपाली सिनेमा जापानीले हैन हिजो आज नेपाली नै हेर्न छोडी सके । जापानीहरूलाई त नेपाली फिल्म हुन्छ भन्नै भन्ने पनि थाहा छैन। हामीले त्यो थाहा समेत दिन सकेका छैनौँ।’

नेपालबाट फिल्म प्रमोसनमा जापान पुगेको फिल्मकर्मीहरूले नेपाली फिल्मको विस्तार गर्न गएको गफ दिँदै आएका छन्। उनले थपे,‘ नेपाली फिल्मको प्रभाव शून्य छ। कलाकार पत्रकार आए घुमे गए प्रगति भनेको त्यही नै हो।’

उनी पछिल्लो समय विदेशी दर्शक नेपाली फिल्म हेर्न कसै गरे पनि न सकिने बताए। उनी भन्छन्,‘वर्तमान स्थितिमा विदेशमा विदेशी दर्शक तान्न केही गरे पनि सकिन्न। नेपाली फिल्म हेर्ने भनेको यहाँ उपस्थित भएका नेपालीहरू नै हुन्।’

सचिन मात्र होइन अर्का जापानमा नै बसेर नेपाली फिल्म वितरण गर्दै आएका युना इन्टरटेन्टमेन्टका प्रमुख गुरागाइँले भने अलिक फरक तरिकाले नेपाली फिल्मको प्रोमोसन भइरहेको बताए। उनले भने,‘धेरैजसो अवस्थामा त्यस्ता दर्शकहरू नेपाली समुदायका साथीहरूले नेपाली फिल्म हेर्न आग्रह गरेको खण्डमा हेर्छन्। जापानी भाषाको विद्यार्थी वा नेपाली संस्कृति र हिमालय क्षेत्रप्रति आकर्षित भएकाहरू,नेपाली सांस्कृतिक तथा अन्य विषयमा जानकारी लिनका लागि भिन्न सांस्कृतिक अनुभव बटुल्नका लागि स्थानीय मित्रको सिफारिस’हेर्ने गरेका छन्।’

उनले नेपाली फिल्म प्रतिशतको हिसाबले हेर्ने हो एक शोमा ५-१० प्रतिशत जापानी वा अन्य विदेशी दर्शक हुने गरेको बताए। यसलाई बढाउनका लागि उनले राम्रोसँग प्रचार-प्रसार गरेर र सब-टाइटल राख्दा यो संख्या उल्लेख्य बढ्न सक्ने बताए। जापानी तथा अन्य दर्शक तान्नका लागि उनीहरूकै भाषा राख्नुपर्ने बताउँछन्।

उनले थपे,‘नेपाली फिल्म हेर्नका लागि विदेशीहरू हलमा नआएका भने होइनन्। जापानको सिनेमा घरमा नेपाली फिल्महरू जापानी सब-टाइटलसहित प्रस्तुत गरिँदा,नेपाली समुदाय मात्र नभई जापानी र फिलिपिनो दर्शकहरू समेत आकर्षित भएका छन्। विशेषतः जापानी भाषा बुझ्ने विदेशीहरू र नेपाली संस्कृतिमा चासो राख्ने स्थानीय दर्शकहरूको संख्या बढेको देखिन्छ।’ 

खासगरी विशेष प्रस्तुति, अन्तरसंवाद वा कलाकारको उपस्थितिजस्ता ‘भिन्न अनुभव’ दिने कार्यक्रममा जापानी दर्शक तानिएको बताए। उनले पछिल्लो पटक जापानमा विदेशीहरूले नेपाली फिल्म ‘पिताम्बर’ र ‘१२ गाउँ’,‘मनसरा’हेरेको बताए। 

अमेरिका,अष्ट्रेलियामा फिल्म वितरण गर्दै आएका सेभन सिज सिनेमाका प्रमुख विनोद पौडेलको विदेशमा नेपाली फिल्मको विस्तार नभएको बताउँछन्। उनी नेपाली दर्शक बाहेक अरूले फिल्म हेरेर इन्टरनेशनल मार्केट नथपिएको बताए।

 उनले भने,‘विदेशमा नेपाली फिल्मका दर्शक नेपाली बाहेक विदेशी छैनन्। उनीहरुले नेपाली फिल्म हेरेको थाहा छैन। नेपाली फिल्महरूले इन्टरनेशनलमा मार्केट बढायो भन्छन् त्यो सबै हावा कुरा हो। कुनै नेपालीले विदेशीलाई साथीको नाताले लग्यो भने बेग्लै कुरा नत्र नेपालीले नै हेर्ने हो।’

उनले थपे,‘इन्टरनेशनल मार्केट बढाए भन्छन्। खैरे साथी छ गयो भने हो नत्र छैन। यसअघि अन्तर्र्राष्ट्रिय अवार्ड विजेता फिल्म ‘गाउँ आएको बाटो’ पनि पनि हेरेनन्। यो बाहेक अन्य नेपाली फिल्मको अवस्था पनि उस्तै भयो।’

उनले त्यहाँ रहेका नेपालीहरूले नेपाली फिल्म हेरिदिएको हुनाले निर्माताका लागि फिल्म निर्माण गर्दा सहज भएको बताए। ‘आफ्नो लगानी उठाउन पहिलाको तुलनामा सहज भएको छ,’उनले आफ्नो अनुभव सुनाउँदै भने,‘ विदेशीहरूले हाम्रा यहाँका ब्राण्डेड कलाकार हुँ भन्ने अनमोल केसी,भुवन केसी,दयाहाङ राई कसैलाई पनि चिन्दैनन्।’ 

असार ३०, २०८२ सोमबार २१:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।