बीमा प्राधिकरणको फर्जी योग्यता हेर्न छानबिन समिति, ओझा स्वतः निलम्बनमा

काठमाडौं : नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि पेस गरेको योग्यतामा प्रश्न उठेपछि मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त शरद ओझाको योग्यताबारे छानबिन गर्न समिति गठन गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषद्ले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। एक मन्त्रीका अनुसार समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य छन्।
छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन्। बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहेको छ।
बीमा ऐनको दफा १२ को उपदफा १ को खण्ड 'ग' मा खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा अध्यक्ष वा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था छ।
सोही दफाको उपदफा २ मा नेपाल सरकारले अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्नुपरेमा उच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था छ।
विवादका कारण
अध्यक्ष ओझामाथि फर्जी कागजात पेस गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
यही विषयमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।
अख्तियारको प्रारम्भिक छानबिनमा ओझाले बुझाएको योग्यताको विवरण फर्जी देखिएपछि अर्थ मन्त्रालयमा जानकारी गराएको थियो। अर्थमन्त्री विष्णु पौडेलले राजीनामा दिन दिएको सुझाव अटेर गरेपछि मन्त्रिपरिषद्ले छानबिन गर्न समिति नै बनायो।
असार ३०, २०८२ सोमबार २१:३०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।