मुग्लिन-पोखरा सडक : काम सकिएन, म्याद सकियो

मुग्लिन-पोखरा सडक : काम सकिएन, म्याद सकियो

तनहुँ : मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डमा तेस्रो पटक थप गरिएको म्याद पनि सकिएको छ। आइतबार (असार २९) देखि म्याद सकिएको हो।

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको करिब ४१.५ किलोमिटरको खण्डमा चार लेनको कालोपत्र सकिएको छ। तर कालोपत्र बाहेकका कामहरू अझै बाँकी छन्। त्यसैले आयोजना कार्यालयले म्याद थप गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिसकेको छ। आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार हालसम्म पूर्वी खण्डको काम ८६ प्रतिशत सम्पन्न भएको छ।

उनले भने, ‘कालोपत्र त सकियो, दमौली बजारमा ६ लेन र अन्य ठाउँमा ४ लेनको सडक बनिसकेको छ। अधिकांश ठाउँमा रङरोगन पनि सकिएको छ। तर केही काम बाँकी भएकाले म्याद थपको प्रस्ताव पठाएका छौँ।’

पूर्वी खण्डको ठेक्का सन् २०२१ जनवरी ३० (वि.सं. २०७७ माघ १७) मा चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले लिएको थियो। त्यसपछि २०७८ साल वैशाख २ गतेबाट निर्माणको काम सुरु भएको हो। करिब छ अर्ब २१ करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो सडक एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा बनाइएको हो।

वि.सं. २०२६ सालमै रेखाङ्कन भएको यो सडकमा सवारी चाप बढ्दै गएपछि चार लेनको सडक निर्माण सुरु गरिएको हो। पटक-पटक म्याद थपिँदा काम ढिलो भइरहेकोप्रति स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको छ।

असार ३०, २०८२ सोमबार २०:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।