प्रोत्साहन पुरस्कार पुरुषलाई मात्रै दिँदा वर्षाले चित्त दुखाइन, नीता अचम्म

काठमाडौं : चलचित्र विकास बोर्डले वितरण गरेको राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा महिला कलाकारहरूको सहभागिता न्यून देखिएपछि अभिनेत्री वर्षा सिवाकोटीले आपत्ति जनाएकी छन्। विशेषगरी ‘प्रोत्साहन पुरस्कार’ पुरुष कलाकारलाई मात्रै दिइएकोमा उनले चित्त दुखाएकी हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले बोर्डप्रति व्यङ्ग्य गर्दै लेखेकी छन्, ‘लौ नायकज्युहरूलाई मात्रै प्रोत्साहन गर्नुहोस्। हामी महिला कलाकारहरूलाई प्रोत्साहन गर्ने अध्यक्ष हामीले कहिले पाउने ?’ उनले आफ्नो स्ट्याटसमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई मेन्सन गरेकी छिन्।
यता, अष्ट्रेलियामा रहेकी अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै राष्ट्रिय पुरस्कारको छनोटप्रति अचम्म व्यक्त गरेकी छन्। उनले छोटो तर कटाक्षपूर्ण टिप्पणी गरेकी छन्, ‘कहिलेकाहीँ त अचम्मका कुराहरू सुन्न पाउँछौं। वावावा।’
फिल्म वितरक तथा निर्माता प्याट्रिक सुवेदीले भने यसपटकको पुरस्कारमा नातावाद र पहुँचको चलखेल हावी भएको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘योगदान भन्दा नाता, प्रतिभा भन्दा पहुँचले जित्यो।’
सोमबार राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न समारोहमा घोषणा गरिएको राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा ‘खुस्मा’ फिल्मबाट उपासना सिंह ठकुरीलाई मात्रै उत्कृष्ट अभिनेत्रीको रूपमा सम्मान दिइएको थियो। बाँकी सबै मुख्य पुरस्कार पुरुष कलाकार र प्राविधिकहरूले पाएका छन्।
फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट विजय बराल उत्कृष्ट अभिनेता घोषित भए भने ‘शाम्बाला’ निर्देशन गरेका मीनबहादुर भामले उत्कृष्ट निर्देशकको उपाधि पाए। सम्पादनमा ‘पुजार सार्की’का भरत रेग्मी, छायांकनमा ‘पिताम्बर’ फिल्मका पुरुषोत्तम प्रधान र लेखनमा ‘छक्का पञ्जा ५’ का दीपकराज गिरीले पुरस्कार पाएका छन्।
नेपाल भाषाको फिल्म ‘गालय् वन’ यसपटकको उत्कृष्ट आदिवासी मातृभाषी फिल्म घोषित भएको छ। त्यस्तै, निर्णायक समितिले प्रोत्साहन पुरस्कार अभिनेता प्रदीप खड्कालाई ‘पुजार सार्की’ फिल्मबाट प्रदान गरेको छ।
विशेष योगदान सम्मान प्रेम सुब्बा, गायिका देविका वन्दना, छायांकार दीर्घ गुरुङ, कलाकार तथा निर्देशक अनुप बराल, परशुराम चौधरी, सुरक्षा पन्त, नकिम उद्दिन, उत्तम केसी, अन्जु रञ्जितकार र निखिल उप्रेतीलाई प्रदान गरिएको हो।
‘चे (लिम्बु)’ र ‘दिलसरा (मगर)’ फिल्मलाई विशेष चलचित्र पुरस्कार दिइएको छ। यसबाहेक प्राविधिक श्रेणीमा मरणोपरान्त विशेष योगदान सम्मान प्रकाश व्यवस्थापक श्रवण मास्केलाई प्रदान गरियो। वि.सं. २०४६ मा चलचित्र ‘चिनो’को छायाङ्कनका क्रममा उनको निधन भएको थियो।
चलचित्र दीर्घ साधना सम्मान लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई प्रदान गरिएको हो। चलचित्र विकास बोर्डले यो कार्यक्रममा आफूनिकट पत्रकारहरूलाई मात्रै निमन्त्रणा गरेको भन्दै आलोचना पनि भएको छ।
असार ३०, २०८२ सोमबार २०:०३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।