उकेरा प्रभाव : मिलेमतोको खुलासापछि काठमाडौं महानगरले गर्‍यो एनेस्थेसिया मेसिनको टेण्डर रद्द

उकेरा प्रभाव : मिलेमतोको खुलासापछि काठमाडौं महानगरले गर्‍यो एनेस्थेसिया मेसिनको टेण्डर रद्द

काठमाडौं : निश्चित कम्पनीसँगको मिलेमतोको खुलासापछि काठमाडौं महानगरपालिकाले करिब ४४ लाखमा दुई सेट ‘एनेस्थेसिया मेसिन’ खरिद गर्नेगरी निकालेको टेण्डर रद्द गरेको छ। 

महानगरपालिकाले टेण्डर गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसन स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले मिलेमतोमा टेन्डर स्वीकृत गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनसँग हुबहु मिलेकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

सो एनेस्थेसियाको स्पेसिफिकेसन विभागका टेन्डर मिलेमतोमा बदनाम बायोमेडिकल इन्जिनियर आशिष चौहानले बनाएका थिए।

महानगरपालिकाको स्वास्थ्य विभागले २०८२ जेठ २२ मा करिब ४४ लाखमा दुई सेट ‘एनेस्थेसिया मेसिन’ खरिदका लागि टेन्डर आह्वान गरेको थियो। मेसिनको प्राविधिक स्पेसिफिकेसन विभागमै मिलेमतोमा खरिदका लागि चौहानले बनाएको स्पेसिफिकेसनका प्रावधान हुबहु राखेका थिए।

उकेराले तीन हप्ताअघि असार ५ मा ‘स्वास्थ्य सेवा विभागको खरिद मिलेमतो काठमाडौं महानगरमा आइपुग्यो, एनेस्थेसिया मेसिनको टेन्डरमा स्पेसिफिकेसन नै कपिपेष्ट’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो।

त्यसपछि काठमाडौं महानगरपालिका (नगर कार्यपालिकाको कार्यालय)को स्वास्थ्य विभागले असार १९ मा टेण्डर रद्द गरिएकोबारे सूचना प्रकाशित गरेको हो।

महानगरको स्वास्थ्य विभागले एनेस्थेसिया मेसिनको टेण्डर रद्द गरेको सूचनामा ‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा-२६ को उपदफा १(ग) अनुसार सम्पूर्ण खरिद कारवाही रद्द गरिएको’ जनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा-२६ मा ‘बोलपत्र अस्वीकृत गर्ने वा खरिद कारबाही रद्द गर्ने’ सम्बन्धि व्यवस्था छ। ऐनको दफा-२६ को उपदफा १(ग) मा ‘माग गरिएको मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा आवश्यक नभएमा’ बोलपत्र अस्वीकृत गर्न वा खरिद रद्द गर्न सक्ने व्यवस्था छ।

कीर्तिपुर अस्पतालले माग गरे भन्दा महानगरले टेन्डर गरेको एनेस्थेसिया मेसिन फरक परेकाले यो टेन्डर रद्द गर्नुपरेको महानगरपालिकाका एक कर्मचारीले दाबी गरे। तर महानगरको स्वास्थ्य विभाग नेतृत्व र खरिद समितिको टिमले मिलेमतोको विवादबाट बच्न यो प्रावधानलाई टेकेर टेण्डर रद्द गरेको प्रष्टै देखिन्छ। 

यदि मिलेमतोको विवादबाट बच्न यो टेण्डर रद्द नगरिएको भए बिना आवश्यक किन ‘एनेस्थेसिया मेसिन’को टेण्डर प्रक्रिया अगाडि बढाइयो ? भन्ने प्रश्न उब्जन्छ। यो प्रश्नको जवाफ नै मिलेमतोको खुलासाकै कारण टेण्डर रद्द भएको प्रष्टै देखिन्छ।

महानगरले कीर्तिपुर अस्पताललाई दिन सो एनेस्थेसिया मेसिनको टेण्डर गरेको थियो। तर, महानगरपालिकाले ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसन स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले मिलेमतोमा टेन्डर स्वीकृत गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनसँग हुबहु मिलेकोबारे खुलासा भएकाले संशोधन गर्दा समेत मिलेमतो नछिप्ने भएपछि टेण्डर रद्द गरेको हो।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले मिलेमतोमा निकालेको स्पेसिफिकेसन अनुसार २०८२ जेठ ८ (२०२५, मे २२) मा सूचना जारी गर्दै सात करोड ३१ लाखमा २५ सेट ‘ऐनेस्थेसिया मेसिन’ किन्ने टेन्डर स्वीकृत गरेको थियो। महानगरले पनि प्रतिगोटा २२ लाखका दरले ‘एनेस्थेसिया मेसिन’ किन्नेगरि प्रक्रिया अगाडि बढाएको थियो।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को टेन्डरको प्राविधिक स्पेसिफिकेसन भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ-फ्लो’ सिरिजको प्राविधिक स्पेसिफिकेसनको क्याटलगमा भएका बुँदा नै कपिपेस्ट गरेर राखिएकोबारे उकेराले नै सप्रमाण खुलासा गरेको थियो।

विभागले मिलेमतो अनुसार उत्पादक कम्पनी ‘बीपीएल’कै नेपाली सप्लायर्सलाई टेन्डर स्वीकृत गरिसकेको छ। सोही स्पेसिफिकेसन महानगरमा रद्द हुनु तर विभागमा स्वीकृत हुनुले विभागमा मिलेमतोमा किनेको थप पुष्टि भएको छ। विभागले महानगरमा गरेको प्रस्तावभन्दा महंगोमा एनेस्थेसिया किन्न टेण्डर स्वीकृत गरिसकेको छ।

महानगरले पनि विभागको त्यही ‘ऐनेस्थेसिया मेसिन’कै टेन्डरको प्राविधिक स्पेसिफिकेसन कपिपेष्ट गरेकाले प्राविधिक स्पेसिफिकेसन र सर्तका अधिकतम बुँदाहरू तिनै राखेर ‘बीपीएल’कै नेपाली सप्लायर्सले टेन्डर पाउने करिब निश्चित थियो।
प्राविधिक स्पेसिफिकेसनका अधिकांश बुँदा नै ‘लक्ड’ गरिएकाले संशोधन गर्दा समेत मिलेमतो खुल्ने भएपछि महानगरको स्वास्थ्य विभागले विवादको झमेलाबाट बच्न एनेस्थेसिया मेसिनको टेण्डर नै रद्द गरेको प्रष्टै देखिन्छ।

दुबैतिर एकै स्पेसिफिकेसन

काठमाडौं महानगरपालिकाले खरिद प्रक्रिया अगाडि बढाएर रद्द गरेको ‘ऐनेस्थेसिया मेसिन’ र स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको केही बुँदाबाहेक हुबहु नै मिलेको थियो।

महानगरले विभागको स्पेसिफिकेसन कसरी कपिपेष्ट गरेको थियो भन्ने उकेराले सप्रमाण समाचार सम्प्रेषण गरेको थियो।
महानगरपालिकाले टेन्डर प्रक्रिया अगाडि बढाएर रद्द गरेको सो ‘ऐनेस्थेसिया मेसिन’को ‘प्राविधिक स्पेसिफिकेसन’को उपशीर्षकमा ‘टेक्निकल स्पेसिफिकेसन अफ एनेस्थेसिया वर्कस्टेसन वीथ ७ प्यारामिटर पेसेन्ट मनिटर’ उल्लेख थियो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले पनि जेठ ८ मा खरिद स्वीकृत गरेको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनको उपशीर्षकमा ठ्याक्कै यही नै वाक्य राखेको थियो।

महानगरले टेन्डर गरेर रद्द गरेको सो ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनमा बुँदा नम्बर ‘१’ देखि ‘१२.२’ सम्म थिए। विभागको ‘ऐनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनमा पनि ठ्याक्कै त्यति नै बुँदाहरू थिए।

महानगरले प्राविधिक स्पेसिफिकेसन भित्रका बुँदाहरू पनि सर्लक्कै कपिपेष्ट नै गरेको थियो। महानगरले टेन्डर प्रक्रिया अगाडि बढाएर रद्द गरेको सो ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनका नगण्य बुँदाहरूमा सामान्य भाषा परिवर्तन गरे पनि करिब ९९ प्रतिशत मापदण्डका बुँदा भने स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले टेन्डर स्वीकृत गरेको ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेसिफिकेसनका बुँदासँग हुबहु मिलेका थिए।

प्राविधिक स्पेसिफिकेसनमा भएका सबै बुँदाहरू केलाउँदा महानगरले पनि विभागले जुन उत्पादक कम्पनीको नेपाली सप्लायर्सलाई टेन्डर दिएको छ उसैलाई टेन्डर दिनेगरी एनेस्थेसिया मेसिनको खरिद प्रक्रिया अगाडि बढाएको पुष्टि हुने आधार देखिएको थियो। तर, महानगरले यो खुलासापछि टेण्डर नै रद्द गरिदियो।

खरिदमा भएको बदमासीबारे उकेराले समाचार प्रकाशित गरेपछि महानगरका मेयर बालेन शाहको सचिवालयले महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीसँग खरिदबारे लिखित जानकारी माग गरेको थियो।

विभागले मिलेमतोमा प्रक्रिया अगाडि बढाएको खरिदको स्पेसिफिकेसन कसरी महानगरको खरिदमा आइपुग्यो भन्नेबारे उकेराले केसीसँग जिज्ञासा राखेको थियो। उनले केवल ‘खरिदको विषयमा केही समस्या रहेछ भने प्रिबिड मिटिङपछि सुधार गरिने’ प्रतिक्रिया मात्र दिएका थिए। तर, महानगरको स्वास्थ्य विभागले एनेस्थेसिया मेसिनको टेण्डरको विवादमा पर्नुभन्दा रद्द नै गरिदियो।

असार ३०, २०८२ सोमबार १८:५८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।