ओलीले फेसबुकबाटै दिए प्रचण्डका प्रश्नको जवाफ, सरकारको काम हेर्न कीर्तिपुर जान आग्रह

ओलीले फेसबुकबाटै दिए प्रचण्डका प्रश्नको जवाफ, सरकारको काम हेर्न कीर्तिपुर जान आग्रह

काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको संसद्मा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक बाटै दिएका छन्।  

दाहालले संसद्मा कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको विषय उठाउँदै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ फर्काएका हुन्।

‘खोई कीर्तिपुरको मैदानमा फ्लडलाइट? खोई प्यारापिट?’ भन्ने प्रचण्डको प्रश्नको जवाफ दिँदै ओलीले लेखेका छन्, ‘बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’

प्रधानमन्त्री ओलीले आफूले कामलाई समय तोकेर अघि बढाएको बताउँदै प्रचण्डलाई व्यंग्य गरेका छन, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काम टाइमलाइन तोकेर गर्छु भन्नुभएन, र तपाईंले केही गर्नु पनि परेन, गर्नु पनि भएन।’

ओलीले लेखेका छन्, ‘सरकारको कामबारे तथ्याङ्क राखेर तपाईंले कहिल्यै जवाफ दिनुपरेन। तपाईंका त न वाचा, न निर्णय, न संकल्प, न काम।’

आफ्नो कार्यशैलीको बचाउ गर्दै ओलीले भने, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें, र काम पनि गरें।’
दाहालले संसद्मा अर्थतन्त्रका बारे गरेको टिप्पणीबारे जवाफ दिँदै ओलीले लेखेका छन्, ‘तपाईंले जर्जर अवस्थामा छाडेको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’ 

असार ३०, २०८२ सोमबार १७:०५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।