संसद्मा ‘प्रचण्ड’ले सम्बोधन गर्दा सत्तापक्ष तर्फ शीर्ष नेताका अधिकांश कुर्सी खाली (तस्विरसहित)

संसद्मा ‘प्रचण्ड’ले सम्बोधन गर्दा सत्तापक्ष तर्फ शीर्ष नेताका अधिकांश कुर्सी खाली (तस्विरसहित)

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरे। उनले सरकारको कार्यशैली, बजेट, भ्रष्टाचार लगायतका विषयमा सरकारमाथि गम्भीर प्रश्न उठाए। तर संसदमा उनले बोलेका कुरा सुन्नुपर्ने जिम्मेवार नेता, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सत्ता गठबन्धनका शीर्ष तहका नेताहरू अनुपस्थित थिए। सरकार पक्ष तर्फको आसनका कुर्सी लहरै खाली थिए। 

संसद् प्रतिपक्षीको अनि सरकार सत्ता पक्षको भनिन्छ। प्रधानमन्त्री बोल्दा प्रमुख प्रतिपक्षी उपस्थित हुनु अनि प्रतिपक्षी दलको नेता बोल्दा सत्तापक्ष र प्रधानमन्त्री हुनु सामान्य नियम हुन्। तर आजको संसद्का यि सामान्य नियम कांग्रेस एमालेका शीर्ष नेताले मानेको देखिएन।

‘प्रचण्ड’ बोल्दा न त प्रधानमन्त्री थिए न त प्रमुख सत्ता साझेदार शेरबहादुर देउवा। प्रचण्डले गरेको सम्बोधन सुन्ने सत्तापक्षका सांसद कम थिए भने प्रतिपक्षी सांसद धेरै थिए। प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा दुबै दलले संसदिय मर्यादाको नियम उलंघन गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देश गम्भीर संकटतिर गइरहेको भन्दै सरकारको आलोचना गरे। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनतासँग गरिएका सपना र प्रतिबद्धतामाथि घात भएको टिप्पणी गरे।

 

विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतालाई देखाइएको भविष्य र आशा(विश्वास अहिलेको शासनशैलीसँग मेल नखाने उनको भनाइ थियो। ‘सपना र प्रतिवद्धतालाई अपमानित बनाउने गरी सत्ता चलाइएको छ,’ उनले आरोप लगाए।

संसद र समितिहरूको कार्यशैलीप्रति पनि प्रचण्ड असन्तुष्ट देखिए। उनले प्रतिनिधिसभामा विधेयकहरू अघि बढ्न नसक्नुमा चलखेल र हस्तक्षेप जिम्मेवार रहेको बताए। ‘दुई ठूला दलहरूको मिलोमतोले संसद विचौलियाको खेलमैदान बन्न पुगेको छ,’ उनले भने, ‘यो प्रवृत्ति राष्ट्र र जनताका लागि लाजमर्दो र खेदजनक हो।’

लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा सरकार गम्भीर रूपमा लाग्नुपर्नेमा उनले जोड दिए। ‘यदि परिस्थितिको गम्भीर समीक्षा र कडा निर्णय गरिएन भने अवस्था विस्फोटक बन्न सक्छ,’ उनले भने। 

असार ३०, २०८२ सोमबार १५:२०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।