दुई ठूला दलहरूको मिलोमतोमा संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको प्रचण्डको आरोप

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको जोखिममा पुगेको दाबी गरेका छन्। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनतासँग गरिएका सपना र प्रतिबद्धतामाथि घात भएको टिप्पणी गरे।
विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतालाई देखाइएको भविष्य र आशा-विश्वास अहिलेको शासनशैलीसँग मेल नखाने उनको भनाइ थियो। ‘सपना र प्रतिवद्धतालाई अपमानित बनाउने गरी सत्ता चलाइएको छ,’ उनले आरोप लगाए।
संसद र समितिहरूको कार्यशैलीप्रति पनि प्रचण्ड असन्तुष्ट देखिए। उनले प्रतिनिधिसभामा विधेयकहरू अघि बढ्न नसक्नुमा चलखेल र हस्तक्षेप जिम्मेवार रहेको बताए। ‘दुई ठूला दलहरूको मिलोमतोले संसद विचौलियाको खेलमैदान बन्न पुगेको छ,’ उनले भने, ‘यो प्रवृत्ति राष्ट्र र जनताका लागि लाजमर्दो र खेदजनक हो।’
लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा सरकार गम्भीर रूपमा लाग्नुपर्नेमा उनले जोड दिए। ‘यदि परिस्थितिको गम्भीर समीक्षा र कडा निर्णय गरिएन भने अवस्था विस्फोटक बन्न सक्छ,’ उनले भने।
असार ३०, २०८२ सोमबार १४:४९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।