प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा जान खोज्ने र नफर्केकाहरूबारे सीआईबीले अनुसन्धान गर्ने

प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा जान खोज्ने र नफर्केकाहरूबारे सीआईबीले अनुसन्धान गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको एक कार्यक्रममा सहभागी हुन गएर स्वदेश नफर्केका व्यक्तिहरू र गैरकानुनी कागजात प्रयोग गरी जान खोजेकाहरूबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ।

गृह मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिँदै अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।

उनले उकेरासँग भने, ‘गैरकानुनी रूपमा गएका र जान खोजेकाहरूबारे अनुसन्धान हुन्छ। विशेष गरी गैरसरकारी संस्थाहरूले नक्कली कागजात बनाएको भन्ने कुरा आएकोले त्यस्ता डकुमेन्ट कहाँ बन्यो भन्नेबारे पनि अनुसन्धान गरिन्छ।’

गृहमन्त्री रमेश लेखकले पनि स्पेनको सेभियामा भएको ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स्’ कार्यक्रममा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक को-को, कुन विधि/प्रक्रिया र कुन संस्थामार्फत सहभागी हुन गए, उतै बसे र विमानस्थलबाट फर्काइए भन्नेबारे गहन छानबिन गर्न निर्देशन दिएको बताए।

उनले स्पेन जान भिजिट भिसाको प्रबन्ध कसले गर्यो लगायतका सबै पक्षबारे अनुसन्धान गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएको उल्लेख गरे।

प्रधानमन्त्रीको स्पेन भ्रमण र त्यसपछिको विवाद
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नामक कार्यक्रममा सहभागिता जनाउनका लागि असार १४ गते स्पेनको सेभिया भ्रमणमा गएका थिए। सो सम्मेलनमा प्रधानमन्त्री ओलीसँगै विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू लगायतका व्यक्तित्वहरू सहभागी थिए।

कार्यक्रम सम्पन्न भई प्रधानमन्त्रीसहितको टोली नेपाल फर्किएपछि यससँग जोडिएको एक विषयले संसदमा समेत प्रवेश पाएको थियो। असार २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रतिनिधि सभामा प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा गएकामध्ये केही मानिसहरू स्वदेश नफर्किएको भन्दै यसबारे प्रश्न उठाएकी थिइन्। यसपछि संसदमा आरोप-प्रत्यारोप चलेको थियो भने सुरुमा परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको टोलीसँग स्पेन गएका सबै व्यक्तिहरू स्वदेश फर्किएको दाबी गरेको थियो।

प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका १० जना नफर्केको खुलासा
तर, यसै कार्यक्रमको आवरणमा केही व्यक्तिलाई ‘मानव तस्करी’को उद्देश्यले नक्कली कागजात बनाएर युरोप पठाउन संगठित गिरोह नै सक्रिय रहेको तथ्य पछि सार्वजनिक भयो। उकेराले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी हुन गएका १० जना नेपाली स्वदेश नफर्केको खुलासा गरेको थियो।

उनीहरूमध्ये अधिकांश स्पेनमै र केही अन्य युरोपेली देश पुगिसकेको स्रोतहरू बताउँछन्। स्पेनमै रहने भनिएकाहरूमा तेह्रथुमका फुर्वा र जीवन, काभ्रेका राजेश, झापाका एटराज र प्रणियता, ताप्लेजुङका डण्डु, चितवनका अर्जुन, म्याग्दीका रबिन र पर्वतका हरिप्रसाद रहेका छन्। ताप्लेजुङकी शिक्षा भने युएनको कार्यक्रममा सहभागी भएपछि जर्मनीको ह्यामबर्ग पुगेको उनको फेसबुक गतिविधिबाट देखिन्छ।

दूतावासको निगरानी र विमानस्थलमा रोकिएका घटना
नेपालमा स्पेनको राजदुतावास नरहेको र नयाँ दिल्लीस्थित स्पेनको दुतावासले नेपालसम्बन्धी काम हेर्ने गरेको छ। दिल्लीस्थित दुतावासले यस प्रकरणमा नक्कली कागजात प्रयोग भएकोबारे जानकारी दिएको थियो। दुतावासका अनुसार, स्पेन जान चाहने केही नेपाली नागरिकले आफूहरू स्पेनको सेभिया शहरमा युएन सम्मेलनमा सहभागी हुन लागेको दाबी गर्दै भिसा आवेदन दिएका थिए।

दुतावासले गरेको प्रारम्भिक जाँचपछिको निष्कर्षअनुसार, भिसा आवेदकहरूमध्ये कोही पनि आफ्नो काम वा सम्मेलनबारे प्रष्ट रूपमा केही भन्न सकेका थिएनन्। उनीहरूसँग गैरसरकारी संस्थाको नक्कली सिफारिसपत्र र युएन सम्मेलनको भनिएको तर आधिकारिक रूपमा पुष्टि नभएको कागज मात्र भेटिएको दुतावासको सूचनामा उल्लेख छ।

यसरी नक्कली कागजात प्रयोग गरी स्पेन जान खोज्ने नेपालीहरूको कागजात शंकास्पद देखिएपछि दुतावासले एयरलाइन्सहरूलाई यात्रुहरूलाई बोर्डिङ अनुमति दिनुअघि सम्बन्धित अफिसरसँग समन्वय गर्न विशेष निर्देशन दिएको थियो। यस निर्देशनकै कारण असार १४ गतेकै रात, युरोप जाने तयारीमा रहेका ५५ जना नेपाली यात्रुको कागजात नक्कली रहेको पाइएपछि विभिन्न विमान कम्पनीहरूले बोर्डिङ पास दिनुअघि नै रोकेका थिए।

दिल्लीस्थित स्पेनिस दुतावासले अन्तिम समयमा उनीहरूको भिसा रद्द गरेको थियो। यसैगरी, उही दिन बिहान दिल्ली विमानस्थलबाटै अर्को ९ जनाको समूह पनि कतार एयरवेजको विमान चढ्न खोज्दा रोकिएको थियो। उनीहरूको कागजात र यात्राको उद्देश्य पनि शंकास्पद पाइएको थियो।

सम्बन्धित समाचार:

असार ३०, २०८२ सोमबार १३:५५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।