कमेडी दरबारको सेटमा रुवाबासी, मञ्चमा पोखियो बुढेसकालको पीडा

काठमाडौं : कमेडी दरबारको मञ्च सामान्यतया हाँसोले गुञ्जिन्छ। दर्शक पेट मिचिमिची हाँस्छन्। तर यस पटक फरक भयो। दर्शकलाई सधैँ हँसाउने सुन्दर खनाल र मिस पवीको जोडीले यस पटक भने भावुक बनाए, आँखा रसाए।
कहिले रजतपट अंकल त कहिले नेताको क्यारिकेचरले दर्शकलाई मनोरञ्जन दिने सुन्दर र उनको जोडी बनेकी मिस पवी यस पटक पाका उमेरका श्रीमान्-श्रीमतीको भेषमा मञ्चमा उत्रिए।
उनीहरूले बुढेसकालको तीतो यथार्थ र सन्तानबाट उपेक्षित बाबुआमाको पीडालाई कमेडीको माध्यमबाट यसरी प्रस्तुत गरे कि दर्शकहरू भावुक बन्दै आँशु पुच्छ बाध्य भए।
श्रीमान् बनेका सुन्दरले जब ‘अब त सेक्युरिटी गार्ड बस्ने सोचिरहेको छु’ भन्छन् र श्रीमती बनेकी पवीले ‘त्यो ढोकाको बाहिर कुर्ने?’ सोध्दा सुन्दरको जवाफ हुन्छ, ‘ढोकाभित्र त छोरा बुहारीले पस्न दिँदैनन्, बाहिर काल कुर्दै बस्यो।’ यो संवादले धेरै दर्शकलाई चसक्क बनाएको थियो।
पछिल्लो समय सन्तान विदेशिएपछि वा नजिकै भएर पनि वास्ता नगर्दा नेपालमा रहेका बुवा आमाले भोग्नुपरेको एक्लोपन, पीडा र उपेक्षालाई उनीहरूले मञ्चमा जीवन्त शैलीमा देखाए।
सन्तानप्रतिको गुनासो पोख्दै सुन्दर भन्छन्, ‘अब यो सन्तान बन्ने चिज नै यस्तै रहेछ। जन्मने बित्तिक्कै रोएर सुत्न दिँदैनन्, बुढेसकालमा रुवाएर सुत्न दिँदैनन्।’ पवीले पनि बुढेसकालमा आफ्नै सन्तानका लागि ‘घाडो’ बन्नुपर्ने पीडा व्यक्त गर्छिन्।
विदेशीका बुवाआमा स्याहार्न सक्ने छोराछोरीले आफ्ना बाबुआमालाई वास्ता नगरेको तीतो यथार्थमाथि उनीहरूले कडा व्यङ्ग्य गरे। ‘यो सबै पैसाको खेल हो’ भन्ने उनीहरूको भावले उपस्थित पाहुना उदय सोताङ, स्वप्न सुमन, सुवानी मोक्तान र दर्शकदीर्घामा रहेका सबैलाई भावुक बनायो।
प्रस्तुतिको अन्त्यतिर छिमेकीको मुखबाट सुनिएको एउटा संवादले कथालाई अझ मर्मस्पर्शी बनायो।
‘हैन यी बुढाबुढी कति हल्ला गर्न सकेका। छोरा मरेकै तीन वर्ष भइसक्यो। अहिले पनि छोरा-छोरा भनेर डिस्टर्ब गरेका छन्’, यो संवादले कथाको वियोगान्त पाटोलाई उजागर गर्यो।
उनीहरूको यो प्रस्तुति अघिल्ला एपिसोडहरू भन्दा भिन्न थियो। यस पटक उनीहरूले दर्शकलाई हँसाउनु भन्दा पनि रुवाउने र सोच्न बाध्य पार्ने उद्देश्य राखेको देखिन्थ्यो। त्यसपछि सीडी विजय अधिकारीले गाएको ‘के गर्छस् ए दैव’ गीतले त दर्शकदीर्घामा रहेका पाहुनादेखि सामान्य दर्शकको अनुहारसम्म आँसु देखियो।
उनीहरूको यो प्रस्तुतिले प्रत्यक्ष दर्शकलाई मात्र होइन, युट्युबमा हेर्ने लाखौं दर्शकको मन छोएको छ। कमेन्ट बक्स भावुक प्रतिक्रियाहरूले भरिएको छ।
रित नाम गरेका एक दर्शक लेख्छन्, ‘विदेशमा बसेर मनमा कति अदृश्य घटनाहरू थिए। त्यो निस्कनुपर्ने थियो र आज आँशुको माध्यमबाट निस्कियो। आँखा त सुनियो तर मनको भारी कम भयो। सुन्दर र पवीजीलाई धन्यवाद। सुन्दरजीले पस्किनुभएको खुराकले धेरै आमाबाबुलाई राहत मिल्नेछ। उपेक्षा घट्नेछ, धेरैको आँखा खोलिनेछ भन्ने अपेक्षा गर्दछु।’
अर्का दर्शक थमन पुन भन्छन्, ‘कमेडी दरबारको इतिहासमा सुन्दर र पवीको प्रस्तुति आजको उचाइ मापन गर्न निकै गाह्रो छ।’
सुरेन्द्र पुरीले त यो प्रस्तुति हेरेर परदेशमा रहेका सबैलाई दिनको कम्तिमा एक मिनेट आफ्ना बाबुआमालाई फोन गर्न आग्रह गरेका छन्। कतिपयले त यो प्रस्तुति हेरेर आफ्ना बितेका बाबुआमा सम्झेर रोएको बताएका छन्।
फरक-फरक भूमिकामा आफूलाई अब्बल साबित गरेका सुन्दरले यस पटक भने सन्तानबाट उपेक्षित बाबुआमाको कथा मार्फत धेरैको मन छुन सफल भएका छन्। दर्शकले उनीहरूको यो भावुक प्रस्तुतिलाई निकै मन पराएका छन्।
दोहोरो अर्थ लाग्ने संवाद र अतिथिलाई बढी रोस्ट गरेको आरोप लाग्ने गरेको कमेडी दरबार पछिल्लो समय सुधारात्मक बाटोमा अघि बढेको संकेत समेत दिएको छ।
असार ३०, २०८२ सोमबार १३:३७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।