प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा जान नपाएका र नफर्किएकाहरूबारे अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा विभिन्न संस्थाबाट सहभागी हुन गएका नफर्किएकाहरूमाथि अनुसन्धान हुने भएको छ।
गृह प्रशासनले स्पेनको सेभियामा भएको ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स्’ कार्यक्रममा सहभागी हुन गएका, उतै बसेका र विमानस्थलबाट फर्काइएकाहरूबारे अनुसन्धान गरिने गृहमन्त्री रमेश लेखकले जानकारी दिए।
‘प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को-को गए? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु,’ उनले उकेरासँग भने, ‘स्पेन जान भिजिट भिषाको प्रबन्ध कसले गर्यो? लगायतका सबै पक्षबारे अनुसन्धान गर्न मैले मातहतका निकायलाई निर्देशन दिएको छु।’
मन्त्री लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्।
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ। घटनामा दोषी देखिएकालाई कारबाही हुने समेत उनले बताए।
प्रधानमन्त्रीको स्पेन भ्रमण र त्यसपछिको विवाद
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नामक कार्यक्रममा सहभागिता जनाउनका लागि असार १४ गते स्पेनको सेभिया भ्रमणमा गएका थिए। सो सम्मेलनमा प्रधानमन्त्री ओलीसँगै विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू, विश्व तथा क्षेत्रीय संघसंस्थाहरू, वित्तीय एवं व्यापारिक निकायका प्रमुखहरू, व्यवसायी, नागरिक समाजका प्रतिनिधि र संयुक्त राष्ट्र संघ प्रणालीका सम्बन्धित पदाधिकारीहरू सहभागी थिए।
कार्यक्रम सम्पन्न भई प्रधानमन्त्रीसहितको टोली नेपाल फर्किएपछि यससँग जोडिएको एक विषयले संसदमा समेत प्रवेश पाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले असार २४ गते प्रतिनिधि सभामा प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा गएकामध्ये केही मानिसहरू स्वदेश नफर्किएको भन्दै यसबारे प्रश्न उठाएकी थिइन्।
सांसद गौतमको भनाइपछि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप चलेको थियो। सत्ताधारी एमालेका सांसद महेश बर्तौलाले सबै फर्किएको दाबी गर्दै प्रतिवाद गरेका थिए। यसै क्रममा, परराष्ट्र मन्त्रालयले पनि एक सूचना जारी गर्दै प्रधानमन्त्रीको टोलीसँग स्पेन गएका सबै व्यक्तिहरू स्वदेश फर्किएको दाबी गरेको थियो।
प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका १० जना नफर्केको खुलासा
तर, यसै कार्यक्रमको आवरणमा केही व्यक्तिलाई ‘मानव तस्करी’को उद्देश्यले नक्कली कागजात बनाएर युरोप पठाउन संगठित गिरोह नै सक्रिय रहेको तथ्य पछि सार्वजनिक भयो। उकेराले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी हुन गएका १० जना नेपाली स्वदेश नफर्केको खुलासा गर्यो।
उनीहरूमध्ये अधिकांश स्पेनमै र केही अन्य युरोपेली देश पुगिसकेको स्रोतहरू बताउँछन्। स्पेनमै रहने भनिएकाहरूमा तेह्रथुमका फुर्वा र जीवन, काभ्रेका राजेश, झापाका एटराज र प्रणियता, ताप्लेजुङका डण्डु, चितवनका अर्जुन, म्याग्दीका रबिन र पर्वतका हरिप्रसाद रहेका छन्।
ताप्लेजुङकी शिक्षा भने युएनको कार्यक्रममा सहभागी भएपछि जर्मनीको ह्यामबर्ग पुगेको उनको फेसबुक गतिविधिबाट देखिन्छ। उनी यसअघि झापामा बुटिक व्यवसाय गरेर बसेकी थिइन्।
दूतावासको निगरानी र विमानस्थलमा रोकिएका घटना
नेपालमा स्पेनको राजदुतावास नरहेको र नयाँ दिल्लीस्थित स्पेनको दुतावासले नेपालसम्बन्धी काम हेर्ने गरेको छ। दिल्लीस्थित दुतावासले यस प्रकरणमा नक्कली कागजात प्रयोग भएकोबारे जानकारी दिएको थियो। दुतावासका अनुसार, स्पेन जान चाहने केही नेपाली नागरिकले आफूहरू स्पेनको सेभिया शहरमा युएन सम्मेलनमा सहभागी हुन लागेको दाबी गर्दै भिसा आवेदन दिएका थिए।
दुतावासले गरेको प्रारम्भिक जाँचपछिको निष्कर्षअनुसार, भिसा आवेदकहरूमध्ये कोही पनि आफ्नो काम वा सम्मेलनबारे प्रष्ट रूपमा केही भन्न सकेका थिएनन्। उनीहरूसँग गैरसरकारी संस्थाको नक्कली सिफारिसपत्र र युएन सम्मेलनको भनिएको तर आधिकारिक रूपमा पुष्टि नभएको कागज मात्र भेटिएको दुतावासको सूचनामा उल्लेख छ।
यसरी नक्कली कागजात प्रयोग गरी स्पेन जान खोज्ने नेपालीहरूको कागजात शंकास्पद देखिएपछि दुतावासले एयरलाइन्सहरूलाई यात्रुहरूलाई बोर्डिङ अनुमति दिनुअघि सम्बन्धित अफिसरसँग समन्वय गर्न विशेष निर्देशन दिएको थियो।
यस निर्देशनकै कारण असार १४ गतेकै रात, युरोप जाने तयारीमा रहेका ५५ जना नेपाली यात्रुको कागजात नक्कली रहेको पाइएपछि विभिन्न विमान कम्पनीहरूले बोर्डिङ पास दिनुअघि नै रोकेका थिए। दिल्लीस्थित स्पेनिस दुतावासले अन्तिम समयमा उनीहरूको भिसा रद्द गरेको थियो। यसअघि उकेराले रोकिएका यी ५५ जनाको विवरण सार्वजनिक गरेको थियो।
यति मात्र होइन, उही दिन बिहान दिल्ली विमानस्थलबाटै अर्को ९ जनाको समूह पनि कतार एयरवेजको विमान चढ्न खोज्दा रोकिएको थियो। उनीहरूको कागजात र यात्राको उद्देश्य पनि शंकास्पद पाइएको थियो।
सम्बन्धित समाचार:
असार ३०, २०८२ सोमबार १३:०७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।