क्यान्सर उपचारको नयाँ आयाम, काठमाडौं क्यान्सर सेन्टरमा पेटभित्र फैलिएको क्यान्सरको आधुनिक उपचार सुरू

क्यान्सर उपचारको नयाँ आयाम, काठमाडौं क्यान्सर सेन्टरमा पेटभित्र फैलिएको क्यान्सरको आधुनिक उपचार सुरू

काठमाडौं : काठमाडौं क्यान्सर सेन्टरले पेटभित्रको झिल्लीमा फैलिएको क्यान्सर अर्थात् पेरिटोनियल कार्सिनोमाटोसिसको उपचारका लागि अत्याधुनिक साइटोरेडक्टिभ सर्जरी र हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी सेवा सुरू गरेको छ। निजी स्वास्थ्य संस्थातर्फ यो सेवा सुरू गर्ने काठमाडौं क्यान्सर सेन्टर नेपालकै पहिलो बनेको छ।

पेरिटोनियल कार्सिनोमाटोसिस क्यान्सरको चौथो अवस्था हो, जुन विशेष गरी ठूलो आन्द्रा, एपेन्डिक्स, डिम्बाशय (ओभरी), रेक्टम वा पेटको क्यान्सर पेटभित्र फैलिएको अवस्थामा देखिन्छ। पहिले यो अवस्था प्रायः असाध्य मानिन्थ्यो र बिरामीलाई केवल आरामदायी उपचार मात्र दिइन्थ्यो, जसले गर्दा बिरामीको जीवनको गुणस्तर घट्थ्यो र बच्ने समय पनि कम हुन्थ्यो।

तर, अब साइटोरेडक्टिभ सर्जरी र हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापीको संयुक्त उपचारले यस्ता बिरामीहरूलाई नयाँ जीवन र आशा प्रदान गरेको छ।

साइटोरेडक्टिभ सर्जरी र हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी के हो र यसले कसरी काम गर्छ?
साइटोरेडक्टिभ सर्जरी : यो एक जटिल शल्यक्रिया हो जसमा पेट खोलेर भित्र देखिएका सबै क्यान्सरका ट्युमर र प्रभावित अंगहरू (जस्तै आन्द्रा, ओभरी, पेटको भाग) काटेर पूर्ण रूपमा हटाइन्छ। यसको मुख्य लक्ष्य पेटभित्रबाट आँखाले देखिने सम्पूर्ण क्यान्सरलाई निर्मूल पार्नु हो।

हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी: शल्यक्रिया सकिएलगत्तै, विशेष मेसिनको सहायताले तताइएको (लगभग ४१/४२ डिग्री सेल्सियस) रसायनयुक्त केमोथेरापी औषधि सिधै पेटभित्र ९० मिनेटसम्म सर्कुलेट (प्रवाह) गराइन्छ।

तातो औषधिले साना कणका रूपमा बाँकी रहेका क्यान्सर कोषहरूलाई प्रभावकारी रूपमा मार्न मद्दत गर्छ। यस विधिमा औषधि सिधै प्रभावित क्षेत्रमा पुग्ने र शरीरका अन्य भागमा कम फैलिने हुँदा सामान्य केमोथेरापीको तुलनामा साइड इफेक्ट कम हुन्छ। केही बिरामीलाई सर्जरीपछि ५ दिनसम्म पेटमा औषधि दिने व्यवस्था पनि गर्न सकिन्छ।

कसका लागि उपयोगी?
यो उपचार विधि विशेषगरी डिम्बाशय, कोलन, एपेन्डिक्स र ग्यास्ट्रिक (पेट) क्यान्सर पेटभित्र फैलिएको अवस्थामा प्रयोग गर्न सकिन्छ।

यो उपचार पेरिटोनियल कार्सिनोमाटोसिस भएका तर क्यान्सर पेटबाहिर अन्य अंगमा नफैलिएका र समग्र स्वास्थ्य स्थिति राम्रो भएका बिरामीहरूका लागि उपयुक्त मानिन्छ। यसको विपरीत, स्वास्थ्य निकै कमजोर भएका वा क्यान्सर शरीरका अन्य भागमा व्यापक रूपमा फैलिसकेका बिरामीहरूका लागि यो उपचार उपयुक्त नहुन सक्छ।

फाइदाहरू
अनुसन्धानले साइटोरेडक्टिभ सर्जरी र हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापीले परम्परागत उपचारको तुलनामा बिरामीको जीवनकाल उल्लेखनीय रूपमा बढाउँछ। विशेषगरी एपेन्डिक्सको क्यान्सरमा यसले १६ वर्षसम्मको जीवन प्रत्याशा दिन सक्छ।

यदि सर्जरीबाट सबै देखिने क्यान्सर हटाउन सकियो भने नतिजा सबैभन्दा राम्रो हुन्छ। क्यान्सर चौथो स्टेजमा पुगे पनि, यदि पेटभित्र मात्र सीमित छ र धेरै फैलिएको छैन भने, यो उपचारले पूर्ण नियन्त्रण वा लामो समय रोगमुक्त अवस्था दिन सक्छ। औषधि सिधै पेटभित्र दिइने हुँदा शरीरका अन्य भागमा यसको असर कम हुन्छ।

नेपालमै आधुनिक उपचार
काठमाडौं क्यान्सर सेन्टरले निजी स्वास्थ्य क्षेत्रमा पहिलो पटक साइटोरेडक्टिभ सर्जरी र हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी सेवा सुरू गरेर नेपालको क्यान्सर उपचारमा नयाँ अध्याय थपेको छ।

डाक्टर दीप लामिछानेको नेतृत्वमा रहेको अनुभवी क्यान्सर सर्जन, केमोथेरापी विशेषज्ञ, रेडियोलोजिष्ट र नर्ससहितको बहुविषयक टोलीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार प्रदान गर्दछ। यसले गर्दा नेपाली बिरामीहरूले विदेश जानुपर्ने झन्झट र अत्यधिक खर्चबाट मुक्ति पाएका छन्।

अन्य देशको तुलनामा नेपालमा यो उपचार निकै किफायती छ। साइटोरेडक्टिभ सर्जरी र हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापीको कुल लागत ६ लाख रुपैयाँभन्दा कम पर्ने अनुमान गरिएको छ, जुन भारतको १५ लाख रुपैयाँ र पश्चिमी देशहरूमा ३० हजार अमेरिकी डलरभन्दा धेरै कम हो।

सस्तो भए पनि गुणस्तरमा कुनै सम्झौता नगरिएको र नतिजाहरू अन्तर्राष्ट्रिय स्तरसँग मेल खाने सुनिश्चित गरिएको सेन्टरले जनाएको छ।

पेरिटोनियल कार्सिनोमाटोसिस जस्तो जटिल रोगका बिरामीहरूका लागि साइटोरेडक्टिभ सर्जरी र हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी उपचार नेपालमै उपलब्ध हुनुले धेरैलाई नयाँ आशा दिएको छ। काठमाडौं क्यान्सर सेन्टर बिरामीको जीवनस्तर सुधार गर्न र उत्कृष्ट नतिजा दिन प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेको छ।

असार ३०, २०८२ सोमबार १२:२७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।