घरभित्रै असुरक्षा : लुम्बिनीमा एक वर्षमा ३० जनाको परिवारबाटै हत्या, श्रीमती मारेको घटना सबैभन्दा बढी

घरभित्रै असुरक्षा : लुम्बिनीमा एक वर्षमा ३० जनाको  परिवारबाटै हत्या, श्रीमती मारेको घटना सबैभन्दा बढी

बुटवल : गत बुधबार सन्धिखर्क नगरपालिका-१२ डिभर्ना बार्सखर्क गाउँका ७० वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर हत्या गरे।

रिसको झोकमा झुपेले कुटपिट गरेर बुवाको हत्या गरेपछि शवलाई मलखादभित्र पुरे। घटनापछि भाग्दै गरेका झुपेलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए।

यही असार १३ गते अर्घाखाँचीमै दाजुले भाइको हत्या गरे। दाजुकी श्रीमतीलाई जिस्काएको निहुँमा दाजुले बञ्चरो प्रहार गरी हत्या गरेका थिए।

शीतगंगा नगरपालिका-६ पाखापानीका ४२ वर्षीय दाजु विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपकसिंह विष्ट बताउँछन्।

परिवारभित्र पहिलेदेखि नै विवाद हुने गरेको र त्यस दिन दुवैले मादक पदार्थसमेत सेवन गरेका थिए। हत्या गर्ने दाजु विष्णुबहादुर बादीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

गत जेठ २३ गते नवलपरासी पश्चिमको सुनवल नगरपालिका-२ अवरैयामा आफ्नै बुवालाई छोराले हत्या गरे। अवरैया बस्ने २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका थिए।

प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो। त्यसलगत्तै उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा कोदालो प्रहार गरेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए। हत्याको कारण रिस र आवेग नै रहेको प्रहरीको निष्कर्ष छ।

दाङको बङ्गलाचुली गाउँपालिका-७ मा घरायसी विवादकै क्रममा श्रीमतीले २०८१ वैशाख अन्तिम साता श्रीमानको हत्या गरिन्।

५३ वर्षीया सङ्गीता सुनारी मगरले आफ्ना ६५ वर्षीय श्रीमान् पुनाराम सुनारी मगरलाई वैशाख २९ गते राति करिब १० बजे दाउरा र लाइट प्रयोग गरी घाँटी र टाउकोमा प्रहार गर्दै हत्या गरेकी थिइन्। प्रहरीका अनुसार घटना घरायसी झगडाका कारण भएको हो। मादक पदार्थ सेवनका कारण श्रीमान्-श्रीमतीबीच लामो समयदेखि झगडा हुने गरेको थियो।

२०८२ असार १ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ३ शिखरका ३८ वर्षीय रामु कुमालको उनकै २७ वर्षीय श्रीमती मेखमाया कुमालले हत्या गरिन्। सामान्य घरायसी विवाद बढ्दै गएपछि हत्यासम्मको घटना भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

मेखमाया बजार गएको बेला श्रीमान् रामुको फोन नउठेपछि परिवारमा विवाद सुरू हुन्छ। साँझ घर फर्किएपछि रामुले फोन किन नउठाएको भन्दै मेखमायालाई सोधपुछ गर्छन्। त्यही रात मदिरा खाएर सुतेकी मेखमायाले मध्यरातमा श्रीमान् रामुको टाउकोमा दाउ प्रहार गरी हत्या गर्छिन्।

स्थानीयका अनुसार रामुसँग मेखमायाको तेस्रो विवाह थियो भने रामुले चौथोपटक विवाह गरेका थिए। उनीहरूले गत चैतमा मात्र विवाह गरेका थिए।

घटनाका कारण र प्रवृत्ति
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। लुम्बिनी प्रदेशमा वर्षैपिच्छे परिवार र आफन्तभित्र हुने आपसी मनमुटाव र झगडाले औसत ३० जनाको हत्या हुने गरेको छ।

सरसर्ती हेर्दा घटना ‘अपराध’ भए पनि यसको अन्तर्यमा आर्थिक विचलन, रिसिबी, बदला, ग्लानीजस्ता कारणले मानिसमा हुने मानसिक विचलनले यस्तै अपराधकर्म जन्माएको देखिन्छ।

प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक नवराज पोखरेल घरमा हुने सामान्य विवाददेखि आवेग र उत्तेजनामा धेरैले ज्यान लिने गरेको अनुसन्धानका क्रममा भेटिएको बताउँछन्।

‘खासै ठूलो विवाद हुने विषय हुन्न। तर आवेगले घटना घटेका थुप्रै उदाहरण छन्’, उनी भन्छन्।

तथ्याङ्क: को, कसको हत्या गर्दैछन्?
परिवारभित्र हुने हत्यामा श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको, बाबु-आमाले छोराछोरीको, छोराले आमाबुवाको, आमाले नवजात शिशुको, आमाले छोराछोरीको, भान्जाले मामाको, दाजुले भाइको, भाइले दाजुको, भतिजले काकाको, हजुरबुवाले नातिको, धर्मबाबु आमाले छोराको हत्या गरेका घटनाहरू छन्।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्र ३० जनाको परिवारभित्र हत्या भएको छ। जसमा ४४ जना संलग्न छन्। जसमध्ये ३२ पुरुष र ८ महिलालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै १ पुरुष र ३ महिला अझै फरार छन्।

चालु आर्थिक वर्षमा श्रीमानले श्रीमतीको हत्या गरेका ११ घटना छन्। छोराले आमाबुवाको हत्या गरेका ४, बाबु आमाले छोराछोरीको हत्या गरेका ३ घटना छन्।

त्यस्तै श्रीमतीले श्रीमानको, आमाले नवजात शिशुको, दाजुले भाइको हत्या गरेका दुई/दुई घटना छन्। यसैगरी लुम्बिनी प्रदेशमा आमाले छोराछोरीको, भान्जाले मामाको, भाइले दाइको, भतिजले काकाको, हजुरबुवाले नातिको र धर्मबाबु आमाले छोराको हत्या गरेको एक/एक घटना छन्।

मनोचिकित्सकको विश्लेषण
मनोचिकित्सकका अनुसार मानिसले आफ्ना समस्यालाई मेटाउन खोज्दा वा जीवनप्रति नै वितृष्णा उत्पन्न हुँदा परिवारकै हत्या गर्नसमेत उन्मुख हुन्छ। हत्याको धेरैजसो कारण मानसिक समस्यासँग जोडिएको हुन्छ। सामाजिक, आर्थिक, पारिवारिक लगायत बहुआयामिक पक्ष पनि हत्यासँग जोडिने मनोचिकित्सकहरू बताउँछन्।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा परिवार र आफन्तबाट ४७ जनाको हत्या भएको तथ्याङ्क छ। जसमा ६२ जना संलग्न थिए। यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा २८ जनाको परिवारका सदस्य र आफन्तबाट मृत्यु भएको छ। जसमा संलग्न ४१ जना थिए।

असार ३०, २०८२ सोमबार १२:०५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।