कमेडी नाइट विथ च्याम्पियन : टीआरपीका लागि सस्तो प्र्याङ्कको सहारा, दर्शकले भने- ‘कन्टेन्टमा मेहेनत गर, कन्ट्रोभर्सीमा हैन’

कमेडी नाइट विथ च्याम्पियन : टीआरपीका लागि सस्तो प्र्याङ्कको सहारा, दर्शकले भने- ‘कन्टेन्टमा मेहेनत गर, कन्ट्रोभर्सीमा हैन’

काठमाडौं : कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ शोको टीआरपी बढाउन उत्कृष्ट कन्टेन्ट भन्दा पनि विभिन्न रियालिटी शो जस्तै गरेर सस्तो प्र्याङ्क र कन्ट्रोभर्सीको सहारा लिन थालेको छ। यसले दर्शकमाझ शोप्रति वितृष्णा जगाएको छ।

शोका निर्देशक विशाल भण्डारीले यो शैलीलाई नयाँ ठाने पनि स्वदेशी र विदेशी गरी कयौं रियालिटी र कमेडी शाे हेरिसकेका नेपाली दर्शकका लागि यो नौलो थिएन।

१६ हप्ताअघि सुरू भएको यो शोको सुरुवातमा पनि खासै कमेडी गर्न नसकेको भन्दै आलोचना भएको थियो। यद्यपि, केही हप्तापछि शो केही लयमा आएको थियो तर पछिल्लो समय फेरि शोको कन्टेन्ट खस्कँदै गएको देखिन्छ।

अहिले जारी गरिएको एपिसोड १६ को प्रोमोको तल रहेका कमेन्टहरू हेर्दा पनि अधिकांश दर्शकले उनीहरूलाई कन्टेन्टमा मिहिनेत गर्न सुझाएका छन्। कमेन्टमा कतिपयले शो चलाउनकै लागि कन्ट्रोभर्सी र फर्जी प्र्याङ्कको सहारा लिएको भनेर समेत टिप्पणी गरेका छन्।

रोशन अधिकारी नामक प्रयोगकर्ताले लेखेका छन्, ‘पहिला खासै राम्रो थिएन। बीचमा राम्रो हुन थालेको थियो अहिले फेरि हेर्नै दिक्दार लाग्ने हुन थाल्यो। भयो चाहिँ के?’

अर्का प्रयोगकर्ता प्रेम प्रकाश रोकयाको पनि उस्तै मत छ। उनले लेखेका छन्, ‘सुरुमा झुर थियो। बीचमा २/३ एपिसोड राम्रो हुँदै आयो। फेरि पतुर निस्किन थाल्यो। मेहनत गर्नुपर्यो है अलि।’

युट्युब प्रयोगकर्ता ‘दारीकाका राजन’ले शो नचलेर कन्ट्रोभर्सीको सहारा लिएको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘अब कार्यक्रम नचलेर कन्ट्रोभर्सी निकाल्न थाले केटाहरूले। यो भन्दा कन्टेन्टमा ध्यान देउ अनि कमेडियन केटी ल्याउ। यो सुझाव हो।’

अर्का प्रयोगकर्ता समीप तामाङको मत पनि ‘दारीकाका राजन’को भन्दा फरक छैन। उनले अलि-अलि मन पर्दै गएको कार्यक्रम पनि डुबाउने भए भन्दै कमेन्ट गरेका छन्। उनले लेखेका छन्, ‘प्रोग्राम नचलेपछि आफैँले फेरि यस्तो नाटक सुरु गर्यो। अलि-अलि मन पर्दै गएको थियो। फेरि डुबाउने भयो।’

कतिपयले शोका निर्देशक विशाल भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि राजनीतिक व्यंग्य गर्न छोडेको समेत टिप्पणी गरेका छन्।

शाेका निर्देश भण्डारीमाथि  कमेडी शाे पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’ भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’को चोरेर बनाएको आरोप लाग्दै आएको छ। निर्देशक भण्डारीले यसलाई स्वीकार्दै आगामी फिल्ममा कमजोरी सुधार्ने प्रतिबद्धता जनाउँदै आएका छन्।

प्रोमोमा देखाइएको दृश्य
सार्वजनिक गरिएको प्रोमोमा कैलाश कार्की र सजन श्रेष्ठ क्रमशः बुवा र छोराको भूमिकामा देखिएका छन्। दृश्यमा उनीहरू व्यक्तिगत रुपमा एक-अर्कालाई रोष्ट गर्दै गरेको देखिन्छ।

सजनः उसले गरेर मात्र कार्यक्रम चलेको हो बुवा, साह्रै हसाउँछ त्यो सजन श्रेष्ठले।

कैलाशः हसाउँछ हसाउँछ सजन श्रेष्ठले शत्रु चाहिँ हसाउँछ। साँच्चै भन्नुपर्दा बाबु त्यो शोमा कैलाश कार्की नभएको भए शो टाटै पल्टिसक्न्थो। धन्न त्यो एउटा छ र शो टिकेको छ। त्यसले त्यो भिकारीको रोल कम्ता राम्रो गर्छ।

सजनः भिकारीले भिकारै त रोल गर्छ नि बुवा। साहुको रोल गर्न पैसा छैन त्योसँग। हसाउनुपर्यो नि बुवा।

कैलाशः जसले जे भने नि सजन श्रेष्ठले भन्दा बढी चाहिँ त्यसैले हसाउँछ ल! त्यो सजन श्रेष्ठ कम्ताको छ पैसा भनेसी गोबरमा परेको सिको पनि चाटेर गोजीमा हाल्छ। आफैँ कन्ट्रोभर्सी बनाउने। उही माफ माग्ने, आफैँ रुने कराउने। पैसा भनेपछि त्यसले मरिहत्ते गर्छ ल!

(सजन केहीबेर रोकिन्छन्...)

कैलाशः के भो बाबु डाइलग बिर्सिस्?

सजनः (निर्देशक विशाल भण्डारीलाई बोलाउँछन्) विशाल दाइ, यो फेरि एकचोटी लिउँ न!

विशालः फेरि! फ्लो मा गइरहेको बेला कहाँ रिटेक लिने भन्या।

सजनः हैन, यो कन्ट्रोभर्सीको कुरा नगरौँ न दाइ, मलाई अस्ति नै फोन आयो क्या।

कैलाशः हिजो अनि स्क्रिप्टमा त्यही हालेको हैन त गर्ने भनेर?

सजनः हैन यो कन्ट्रोभर्सी चैँ नगरौँ के! विशाल दाइ यो कन्ट्रोभर्सीको चैँ रिटेक लिँउ न है!

कैलाशः फ्लोमा गएर इन्डिङ भइसकेको छ दाइ अब!

विशालः भकै कन्ट्रोभर्सी हो त, के फरक पर्यो त नि!

सजनः हैन मलाई फोन आयो क्या दाइ।

कैलाशः त्यै नि हिजो अनि राइटरहरूले राख्या हैन त! राइटरले चैँ हाल भन्या छ तपाईंंले नहाल भनेर हुन्छ?

(राइटरहरू आउँछन्)

सजनः म थिएन नि त!

कैलाशः बस्नुपर्यो नि त दाइ यार अफिस। गाडी चढ्ने अनि शान दिएर आफू चाहिँ ४ बजेपछि अफिसबाट हिन्दिने।

(त्यसबीचमा दीपा बोल्छिन्)

दीपाः ह्या गेस्ट आइसक्नुभाछ, कार्यक्रम चलिराछ। के गरेको तिमीहरूले लफडा?

माथिको संवाद प्रोमोमा देखाइएको अंश हो, जहाँ कलाकारहरूले शो भित्रै विवाद देखाएर दर्शकको ध्यान खिच्न खोजेको देखिन्छ। यसै दृश्यलाई लिएर दर्शकले शोले 'कन्ट्रोभर्सी' सिर्जना गर्न खोजेको भन्दै सुध्रन सुझाव दिएका छन्।

असार ३०, २०८२ सोमबार १०:४१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।