महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले अश्वीनी कुमार ठाकुरलाई बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ।
बैंकको मिति २०८२ असार २० गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) मा भएको व्यवस्था बमोजिम उनको नियुक्ति भएको बैंकले जनाएको छ।
नवनियुक्त स्वतन्त्र सञ्चालक ठाकुरले २०८२ असार २९ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पद बहाली गरेका छन्।
पद बहाली कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरूले संयुक्त रूपमा उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत लगायतका महत्वपूर्ण पदमा रहेर काम गरेको लामो अनुभव रहेको छ।
उनले मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड जस्ता विभिन्न संगठित संस्थाहरूको सञ्चालक समितिको जिम्मेवारीमा रही कार्य गरिसकेका छन्।
बैंकले ठाकुरको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै वित्तीय सेवा प्रदान गरिरहेको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरू रहेका छन्।
असार ३०, २०८२ सोमबार ०९:१८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।