अनु मलिकमाथि लागेको मीटु मुद्दामा भतिज अमालले भने- ‘केही सत्यता हुनुपर्छ, आगो लागेपछि मात्रै धुँवा निस्कन्छ’

अनु मलिकमाथि लागेको मीटु मुद्दामा भतिज अमालले भने- ‘केही सत्यता हुनुपर्छ, आगो लागेपछि मात्रै धुँवा निस्कन्छ’

एजेन्सी : बलिउड संगीतकार तथा गायक अमाल मलिकले हालै आफ्ना काका तथा चर्चित संगीतकार अनु मलिकमाथि लागेको #MeToo आरोपबारे मुख खोलेका छन्। एक अन्तर्वार्तामा अमालले यी आरोपहरूमा केही सत्यता हुनुपर्ने भन्दै आफूलाई यस प्रकरणले निकै लज्जित तुल्याएको पनि स्वीकार गरेका छन्।

सिद्धार्थ कन्ननको अन्तर्वार्तामा अमाललाई ‘अनु मलिकमाथि आरोप लाग्दा के तपाईंले उनीसँग कुरा गर्नुभयो?’ भन्ने प्रश्नको जवाफमा अमालले भने, ‘होइन, मलाई लाग्छ मैले उनलाई समर्थन पनि गरिनँ। मैले भनेको थिएँ कि यो मेरो समस्या होइन, किनकि उहाँ (अनु) मेरो परिवार हुनुहुन्न।’

‘अनु मलिकमाथि आरोप लाग्दा लज्जित महसुस भयो कि भएन?’ भन्ने प्रश्नमा अमालले थपे, ‘स्पष्ट रूपमा, धेरै लज्जित भएँ। मलाई थाहा छैन उहाँले यो गर्नुभयो कि भएन, तर सोना मोहापात्रा, श्वेता पण्डित लगायत धेरै व्यक्तिले उहाँविरुद्ध आवाज उठाएका छन्। त्यसैले यसमा पक्कै केही सत्यता हुनुपर्छ। नत्र मानिसहरू किन यसरी बिना कारण यस्तो गम्भीर आरोप लगाउँथे?’

अमालले आफ्ना बुवा तथा अनु मलिकका भाइ डब्बू मलिकले पनि यी आरोपहरूलाई सत्य मान्ने गरेको खुलाएका छन्। बुवाको भनाइ उद्धृत गर्दै अमालले भने, ‘बुवाले भन्नुहुन्थ्यो- आगो बिना धुवाँ हुँदैन। ४-५ जना मान्छे आएर कसैको बारेमा यत्तिकै केही भन्न सक्दैनन्।’

अमालले एक दिन बुवाले आफूलाई ‘तिम्रो नाम पनि कतै आउँछ कि?’ भनेर सोधेको बताए। जवाफ आफूले ‘मैले कहिल्यै कसैसँग त्यस्तो कुरा गरेको छैन। कसैलाई पनि मैले फिजिकल भएपछि मात्र गीत दिन्छु भन्ने गरेको छैन। म त्यस्तो व्यक्ति होइन। मलाई केवल मेरो काममा ध्यान दिनु छ।’ भन्ने जवाफ दिएको उल्लेख गरे।

स्मरण रहोस्, अमाल मलिकका बुबा डब्बू मलिक र अनु मलिक सहोदर दाजुभाइ हुन्। यद्यपि, विगत केही वर्षदेखि यी दुई परिवारबीचको सम्बन्ध सुमधुर नरहेको बताइन्छ।

असार ३०, २०८२ सोमबार ०८:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।