आज देशभर बदली : धेरै ठाउँमा वर्षा हुने, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज देशभर मनसुनी वायुको सक्रिय प्रभावका कारण मौसम साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा र मेघगर्जन/चट्याङको समेत खतरा रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना देखिएको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
राती भने कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च-पहाडी तथा हिमाली भू-भागमा राती पनि हल्का देखि मध्यम वर्षा वा हिमपात जारी रहन सक्नेछ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेकाले मनसुन थप सक्रिय बनेको महाशाखाले स्पष्ट पारेको छ।
यस मौसमी गतिविधिका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ भने नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
असार ३०, २०८२ सोमबार ०७:५२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।