अमेरिकाको चर्चमा गोलीबारी हुँदा दुई जनाको मृत्यु, प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिए

एजेन्सी : अमेरिकाको केन्टकीस्थित लेक्सिंगटन शहरमा आइतबार एक चर्चमा भएको गोलीबारीमा दुई महिलाको मृत्यु भएको छ भने दुई पुरुष घाइते भएका छन्। प्रहरीले जवाफी कारबाहीमा गोली चलाउँदा संदिग्ध आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको जनाएको छ।
चर्चमा गोली चलाउनुअघि संदिग्ध आक्रमणकारीले लेक्सिंगटनको ब्लू ग्रास विमानस्थल नजिकै एक प्रहरी अधिकारीमाथि पनि गोली चलाएका थिए। ट्राफिक चेकिङका क्रममा अधिकारीले बिहान ११:३० बजे उनको गाडी रोक्दा संदिग्धले गोली प्रहार गरी भागेका थिए।
गोली लागेर गम्भीर घाइते भएका प्रहरी अधिकारीको अवस्था अहिले स्थिर रहेको बताइएको छ। विमानस्थल नजिकै भएको यो गोलीबारीका कारण त्यहाँ रहेका यात्रुहरूमा पनि केही समय त्रास फैलिएको थियो।
विमानस्थलबाट भागेपछि संदिग्धले लगभग १६ किलोमिटर टाढा एक गाडी लुटेका थिए। लुटेको गाडी लिएर उनी लेक्सिंगटनको रिचमन्ड रोड ब्याप्टिस्ट चर्च पुगेका थिए। चर्चभित्र प्रवेश गरी उनले अन्धाधुन्ध गोली चलाउन थालेका थिए।
प्रहरीद्वारा ट्र्याकिङ र कारबाही
प्रहरीले चोरी भएको गाडीको स्थान ट्र्याक गर्दै चर्चसम्म पुगेको थियो। चर्चमा प्रहरी पुग्दा आक्रमणकारीले गोली चलाइरहेका थिए, जसपछि प्रहरीले जवाफी कारबाहीमा उनलाई गोली हानी मारेको थियो। मारिएका संदिग्ध आक्रमणकारीको नाम र उमेर अझै खुल्न सकेको छैन।
आक्रमणको पछाडिको कारणबारे तत्काल केही खुल्न सकेको छैन। यद्यपि, प्रहरीले संदिग्ध आक्रमणकारीले चर्चमा उपस्थित केही व्यक्तिलाई पहिलेदेखि नै चिनेको हुनसक्ने आशंका व्यक्त गरेको छ। लेक्सिंगटन प्रहरी विभागले घटनाको आन्तरिक अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीको नीति अनुसार, यस्ता गोलीबारीका घटनाको विस्तृत आन्तरिक छानबिन गरिन्छ।
अमेरिकामा बढ्दो बन्दुक हिंसा
अमेरिकामा बन्दुक हिंसाका घटना बढ्दै गएका छन्। करिब एक महिनाअघि, जुन १४ मा मिनेसोटामा दुई डेमोक्र्याटिक राज्य सांसदहरूलाई उनीहरूको घरभित्रै गोली हानिएको घटनाले पनि चर्चा पाएको थियो।
उक्त घटनामा राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको थियो। अर्को घटनामा राज्य सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेट गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार, ती आक्रमणकारी प्रहरीको भेषमा आएका थिए र उनीहरूको गाडी पनि जफत गरिएको थियो।
असार ३०, २०८२ सोमबार ०७:४५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।