पहिलो हाफमै चेल्सीको ३ गोल, पीएसजीलाई हराउँदै क्लब विश्वकप उपाधि

एजेन्सी : चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई फाइनलमा ३-० को फराकिलो अन्तरले हराउँदै फिफा क्लब विश्वकप २०२४ को उपाधि जितेको छ।
आइतबार अमेरिकाको न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा चेल्सीले प्रभावशाली प्रदर्शन गर्दै पहिलो हाफभित्रै सबै तीन गोल गरेको थियो। चेल्सीको जितमा युवा स्टार कोल पाल्मर नायक बने। उनले खेलको २२औं र ३०औं मिनेटमा दुई महत्वपूर्ण गोल गरे।
पाल्मरको पहिलो गोल पेनाल्टी क्षेत्रभित्रबाट आएको थियो भने दोस्रो गोल पनि उस्तै मुभमा फिनिस गरेका थिए। पहिलो हाफको ४३औं मिनेटमा पाल्मरकै पासमा जोआओ पेड्रोले चिप गर्दै उत्कृष्ट गोल गरेपछि चेल्सीले ३–० को आरामदायी अग्रता लियो, जुन जितका लागि पर्याप्त रह्यो।
प्रतियोगिताभर उत्कृष्ट देखिएको पीएसजीको आक्रमण फाइनलमा भने चल्न सकेन। चेल्सीले अपनाएको रक्षात्मक र काउन्टर अट्याक रणनीति पीएसजीका लागि भारी पर्यो। पीएसजीले पाएका सीमित अवसरमा पनि चेल्सीका गोलरक्षक रोबर्ट सान्चेज बाधक बने।
दोस्रो हाफमा पीएसजी गोल फर्काउन असफल रह्यो। खेलको ८५औं मिनेटमा जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि भीएआरको सहायताले उनलाई सिधै रातो कार्ड देखाइएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।
चेल्सीको जितका साथै कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
असार ३०, २०८२ सोमबार ०७:१०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।