उद्यमी सुनिताको प्रसव पीडा र खुसी : पहिलो सन्तानलाई हातमा लिँदा मुटुकै टुक्रा समाएजस्तो लाग्यो

तीन दशकदेखि हस्तकलामा संलग्न सुनिता श्रेष्ठ अहिले आफ्नै ‘नेप ह्याण्ड फेल्ट’ कम्पनी चलाइरहेकी छिन्। भेडाको ऊनलाई हातैले मिचेर बनाइने फेल्ट सामग्री उत्पादन गर्ने उनको व्यवसाय खासगरी युरोपेली देशमा निर्यात हुन्छ।
उनले उत्पादन गर्दै आएका सामग्रीहरू खास ‘फेल्ट’ भनिने भेडाको ऊनबाट बनाइन्छ-जसलाई रङमा डुबाएर, साबुन पानीले हातैले मिचेर बनाइने भएकाले सम्पूर्ण प्रक्रिया हस्तनिर्मित हुन्छ। ड्रायर बल र बिरालोका लागि बनाइने फेल्ट हाउसको माग विदेशमा अत्याधिक छ।
सिन्धुपाल्चोकमा जन्मिएकी सुनिताले स्कुले उमेरदेखि कपडा बुन्दै आत्मनिर्भरता सिकिन्। काठमाडौं आएर कम्प्युटर, बाइक, ड्राइभिङ जस्ता सीप पनि आर्जिन्। विवाहपछि ससुराको व्यवसायलाई आफ्नो नाम दिएर अघि बढाएकी सुनिताको यो यात्रा आत्मबल र सिर्जनशीलताको प्रेरणादायी कथा हो।
आज उनी दुई सन्तानकी आमा र सफल उद्यमी भएकी छन्। उनै सुनिताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरि सुनाइन्:
०००
म महिला उद्यमी संघको आजीवन सदस्य पनि हुँ। यसअघि पनि उद्यम क्षेत्रका विभिन्न संघसंस्थामा सहभागी हुँदै आएकी छु। मलाई सानैदेखि केही आफ्नै गर्नुपर्छ भन्ने लाग्थ्यो। त्यसैले विवाह पनि ढिलो गरें। अहिलेको जस्तो समय भए त छोरी मान्छेलाई २५ वर्षको उमेरसम्म पनि सानै मानिन्छ, तर त्यतिबेला मलाई ‘धेरै ढिला विवाह भएको’ भनिन्थ्यो।
म त बिहे गर्ने पक्षमै थिइनँ। सुरु देखिनै मलाई बिहे भनेको बन्धनमा बाँधिने कुरा हो, जसले महिलालाई स्वतन्त्र हुन दिँदैन भन्ने लाग्थ्यो। त्यसैले व्यवसाय गर्ने, काम गर्ने, ठूलो मान्छे बन्ने, पीएचडी गरेर आफ्नो नामअगाडि ‘डा.’ लेख्ने धोको थियो। तर घरमा छोरीले बिहे नगरेको भनेर मेरी आमा त रुनु नै भएको थियो। एक हिसाबले पारिवारिक दबाबमा बिहे गरे।
मैले ‘म बिहे गर्छु, भोलिपल्टै फर्किन्छु है’ भन्थेँ। तर बिहे भएपछि त्यस्तो हुँदैन रहेछ। त्यसमा पनि मागी विवाह भयो, जहाँ निस्किनै गाह्रो हुने। बिहे पक्का गर्ने, सुपारी ल्याउने, स्वयम्बर आदि भनेर हामीलाई एउटा ‘चक्रव्यूह’ भित्र पारिन्छ जस्तो लाग्थ्यो। बिहेपछि म संयुक्त परिवारमा मिसिन पुगे। केही समय त घरको काममै अल्मलिएर ‘टिपिकल बुहारी’ नै भएँ।
आफ्नो काम गरिरहेकी, बाहिर घुमिरहेकी म त्यस्तो रूपमा बस्न सकिनँ। आफ्नै कामलाई पनि सँगसँगै अघि बढाएँ। बुनाइको काम त थियो नै, अन्य संघसंस्थामा बसेर पनि काम गर्ने मौका पाएँ। थानकोटका धाराहरूमा खानेपानी प्रोजेक्टको काम पनि गरे। सन्तान भएपछि त झन् बाहिरी काममा सक्रिय भएँ। हामी दुई सन्तानका आमा-बुबा हौं।
ठूलो छोरी एमबिबिएस सकेर बंगलादेशमै इन्टर्न गर्दैछे। मैले आफ्नो पढाइ स्नातकोत्तरमै सिमित राख्नुपरे पनि छोरीले आफ्नो नाम अगाडि डाक्टर लेखिन्, त्यसमा गर्व लाग्छ। बिहे भएको दुई वर्षमै पहिलो सन्तान भयो। त्यतिबेला ‘ढिला बिहे’ को गुनासो गर्नेहरूले पनि त्यसपछि केही भन्न पाएनन्। योजना गरेकै थिएनौँ, सन्तानको चाहना हुँदै आयो।
गर्भ रहँदा घरमा खुसीको माहोल थियो। संयुक्त परिवार भए पनि गर्भवती हुँदा अहिलेको जस्तो रौनक त्यतिबेला थिएन। नौ महिना सामान्य ढंगले बित्यो। हालै छोरीले सोधी, ‘मामु, म जन्मिँदा तपाईंलाई कस्तो अनुभव भयो ?’
पहिलो सन्तानलाई हातमा लिँदा मुटुकै टुक्रा समाएजस्तो लाग्दोरहेछ। अस्पतालबाट फर्किएपछि अनुहार हेरेर धेरै रोएको थिएँ। ‘मैले यति धेरै गाह्रो गरेर जन्म दिएँ, अब ऊ पनि मलाई छोडेर जान्छे होला’ भन्ने भावले मन भारी भयो।
त्यो बेला म गर्भवती छु भन्ने धेरैलाई थाहा नै थिएन। खुकुलो कपडा लगाएर, मोटरसाइकलमा पनि हिँडिरहेकी थिएँ। शारीरिक रुपमा खासै अप्ठ्यारो भएको थिएन। मनमा चाहिँ उत्सुकता भइरहन्थ्यो। त्यो बेला मलाई कर्कलोको तरकारी र खट्टू धेरै मन पर्थ्यो।
धेरैजसोले मलाई छोरा नै हुन्छ भन्ने गर्थे। डाक्टरले तोकेको मितिभन्दा अघि नै पेट दुख्न थाल्यो। त्यो दुखाइ अचम्मको। कहिले लाग्ने, कहिले हराउने। राति सुरु भएको पीडा बिहानसम्म निरन्तर रह्यो। हामी बिहान अस्पताल गयौँ। प्राइभेट रूम लिएको थियो, सब सहज भयो।
प्रसव व्यथा भने गाह्रो नै लाग्यो। सहन नसकेर ‘अप्रेशन गरिदिनु’ भन्दै कराएको सम्झना छ। प्राइभेट अस्पताल भएको भए सायद गरिहाल्थे पनि। दोस्रो सन्तान हुँदा झन् हलुका अनुभव गरेँ। पेटमा बच्चा छ भन्ने अनुभूति नै थिएन। बरु नाच्न मन लाग्थ्यो। बच्चा चलेको अनुभूति पनि थिएन। देखाउन मात्र गएकी थिएँ, डाक्टरले पानी कम भएको बताए। तुरुन्त अप्रेशन गर्नुपर्यो।
जन्म दिएपछि शरीर हलुका लाग्यो, स्वतन्त्रता महसुस गरे। माया र ममता के हो भन्ने साँचो अनुभव पनि त्यतिबेलै गरे। छोरी राम्री, गोलो अनुहारकी थिई। मेरो अनुहार लाम्चो भएकोले सन्तान गोलुमोलु होस् भनेर गोलो भाडामा खाने गरेको थिएँ।
अहिले उ म जस्तै देखिन्छे। जन्मिएपछि आमाको छातीमा राखिन्छ भन्ने सुनेको थिएँ, तर मलाई त्यो क्षण याद छैन। हस्पिटलमै स्तनपान गराएँ, सहजै भयो। पछि गाईको दूध पनि दियौँ, तर सानैदेखि उसले आमाको बाहेक अरु दूध खान मानेन।
हाम्रो दुई सन्तानबीच आठ वर्षको अन्तर छ। त्यो योजना भने थिएन। ठूलो छोरीपछि दुईवटा गर्भ खेर गए। त्यसपछि गर्भ बस्न पनि समय लाग्यो। एकपटक त तीन महिनामा गर्भपात भयो। खानपिन र जीवनशैलीले असर गरेजस्तो लाग्छ। कहिलेकाहीँ सोच्छु- म काम नगरी बस्न सकेको भए, बच्चाहरू ठूला भइसक्थे कि ?
गर्भ खेर जाँदा आमा भएर निकै गाह्रो लाग्दोरहेछ। तर म निराश भएन। अहिले दुई छोरी भएकोमा निकै खुसी छु। सक्ने भए, अझ धेरै बच्चा पाउने इच्छा थियो। एक सन्तानले घरमा रौनक नै आउँदैन। म त धेरै दाजुभाइ दिदीबहिनी भएको घरमा हुर्केकी। दुई सन्तान भएपछि उनीहरूलाई पनि सहज भएको छ।
उनीहरू एक-अर्कालाई खुवाउन, लाउन, पढ्न, दुख-सुख बाँड्न साथ छन्। कान्छी छोरी गर्भमा रहँदा धेरै समस्या भएन, तर सतर्क त भयौ। मलाई अप्रेशन नगरी जन्माउन मन थियो। तर बच्चालाई गाह्रो होला भनेर जोखिम मोलेनौ।
दुवै छोरीको स्वभाव फरक छ- एउटी म जस्तै, अर्की बुवा जस्तै। जेठी सोजी, भलाद्मी, कान्छी चञ्चल स्वभावकी। सानो छोरी सेन्ट जेभियरमा कक्षा १२ मा पढ्दैछे। उनीहरू आमाको लागि साथी नै हुन्। मलाई लाग्छ साथी नै जन्माएकी हुँ। छोरा चाहिन्छ भन्ने लाग्दैन, बरु छोरी चाहिने रहेछ। छोरी भनेको आफ्नै लागि रहेछ।
बेलाबेला मलाई समय नदिएकोमा उनीहरूको गुनासो सुन्छु, नराम्रो पनि लाग्छ। पहिला म आफैं बिहे नगर्ने, अरूलाई पनि नगर्न भन्ने गर्थे। अहिले सबैलाई भन्छु- बिहे गर्नुपर्छ। माया बुझ्न, जीवनको अर्थ बुझ्न बिहे चाहिन्छ। बच्चा पनि जन्माउनुपर्छ।
मलाई घाममा सुत्न, घिउ-चाकु खान खुब मन पर्थ्यो। सुत्केरी अवस्थाको समय पनि रमाइलो भयो। आमा आफैँमा भगवान हो भनिन्छ। सन्तान जन्मेपछि त आफू पनि भगवान नै भइन्छ। आमा हुनु र भगवान हुनु- दुवै कुरा साँच्चै गाह्रो रहेछ।
असार ३०, २०८२ सोमबार ०७:०१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।