
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई नेपाल लाइफ इन्स्योरेन्सको एक करोड सहयोग

काठमाडौं : बाल स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रदान गरिएको यो सहयोगले राजधानीमा निर्माणाधीन बहुविशिष्टिकृत बाल अस्पताललाई थप गति दिने अपेक्षा गरिएको छ।
किओचको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।
किओच-काठमाडौं अस्पतालको निर्माण बुढानीलकण्ठ नगरपालिका–७ मा भइरहेको छ, जहाँ क्लिनिकल रिसर्च भवन निर्माण भई बालबालिकालाई सेवा दिन थालिएको छ। अस्पतालको मुख्य संरचनाको काम अन्तिम चरणमा पुगेको छ।
सम्झौतापछि बोल्दै नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको नेतृत्वमा भइरहेको यो परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य सुधारमा ऐतिहासिक योगदान पुर्याउने बताएका छन्।
नेपाल लाइफका सीईओ पराजुलीले संस्थाले सामाजिक रूपान्तरणका थुप्रै परियोजनामा काम गरिरहेको जानकारी दिँदै भने, “हामी राजधानी मात्र होइन, सातै प्रदेशमा सुविधायुक्त बाल अस्पताल निर्माणका लागि प्रतिबद्ध छौं। बाल स्वास्थ्य उपचारमा सबैलाई पहुँच पुर्याउने हाम्रो लक्ष्य हो।”
किओचका अध्यक्ष डा. कोइरालाले नेपाल लाइफको सहयोगले परियोजनाले थप ऊर्जा पाएको बताए। “नेपाल लाइफ जस्तो प्रतिष्ठित संस्था सँगको सहकार्य किओचका लागि सम्मान हो,” उनले भने।
कम्पनी र किओच दुवैले भविष्यमा पनि यस्तो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। बाल स्वास्थ्यको क्षेत्रमा यो पहलले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ।
असार २९, २०८२ आइतबार २०:३८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।