
हामी सहकारी ठगेर मुद्दा झेलेपछि हस्ताक्षर अभियान चलाउने रास्वपा जस्तो होइनौं : प्रधानमन्त्री ओली

झापा : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता सुदृढ बनाउन सके एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका छन्। झापामा आयोजित एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै ओलीले विगतमा पार्टीभित्रै बसेका स्वार्थी नेताहरूको षड्यन्त्रका बाबजुद कार्यकर्ता र जनताले पार्टीलाई पुनः राष्ट्रिय शक्तिका रूपमा स्थापित गराएको बताएका हुन्।
‘एमालेविनाको देश र केपी ओलीविनाको एमाले होस् भन्ने चाहना गर्नेहरूको कामना कहिल्यै पूरा हुँदैन,’ उनले भने, ‘एमाले साना स्वार्थ बोकेको पार्टी होइन, यसको काँधमा देश बनाउने महान उद्देश्य छ।’ ओलीले देशहितका लागि एमालेको बलिदान ऐतिहासिक रहेको उल्लेख गर्दै पार्टीमाथि भइरहेका षड्यन्त्र विफल हुने दाबी पनि गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले कटाक्ष गरे, ‘हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।’ आफू र पार्टीमाथि भ्रामक प्रचारहरू भइरहेको भन्दै ओलीले ती प्रचारप्रति ध्यान नदिन कार्यकर्तालाई आग्रह गरे। उनले भनाइलाई थप गहिर्याउँदै भने, ‘माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन।’
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा सुरु गरिएका विकास योजनाहरू-फलामखानीको उत्खनन, पेट्रोलियम पदार्थको खोज, सुरुङमार्ग निर्माण आदि अब परिणाम दिन थालेको बताए। उनले नेपाललाई एमालेले नसके अरूले बनाउन नसक्ने पनि ठोकुवा गरे।
हालै सम्पन्न स्पेन भ्रमणबारे पनि ओलीले विपक्षीले त्यसलाई बदनाम गर्न खोजेको बताए। ‘स्पेन भ्रमण सफल भयो भन्ने कुरा उनीहरूले सुन्न चाहँदैनन्,’ उनले भने, ‘वाइसिएल प्रयोग गरेर भ्रमणमा मान्छे छाडियो भन्ने झुटो प्रचार गरिरहेका छन्।’
भेलामा सयौं युवाहरूलाई पार्टीमा भित्र्याउँदै ओलीले एमाले अझ सशक्त बन्दै गएको संकेत दिए। उनले एकतासहित अघि बढे एमालेले सबै चुनौती पार गर्न सक्ने विश्वास व्यक्त गरे।
असार २९, २०८२ आइतबार २०:२४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।