अश्लील भएको भन्दै तीन लोकगीतविरुद्ध साइबर अपराध ब्युरोमा उजुरी

अश्लील भएको भन्दै तीन लोकगीतविरुद्ध साइबर अपराध ब्युरोमा उजुरी

काठमाडौं : पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल भएका केही गीत-संगीत अश्लील, अमर्यादित र सांस्कृतिक मूल्य मान्यताविपरीत रहेको भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर अपराध ब्युरो भोटाहिटीमा उजुरी दर्ता गरेको छ।

आइतबार संस्थाका अध्यक्ष चन्द्रमणी गौतम र सचिव कमल सरगमले उजुरी दर्ता गराएका हुन्। उजुरीमा ‘गाई कालो’, ‘सल्लादमारमा’ र ‘लुकीलुकी’जस्ता गीतलाई सामाजिक विकृति फैलाउने सामग्रीका रूपमा चित्रित गरिएको छ।

‘गाई कालो’ गीतमा ध्रुव पुन र चन्द्रकुमारी शाही, ‘सल्लादमारमा’मा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वर छ भने ‘सुकीलुकी’मा रामजी खाँण र शान्तिश्री परियारको स्वर रहेको छ।

संस्थाले उजुरीमार्फत गीतहरूमा प्रयोग गरिएको भाषा, हाउभाउ, भाव र सन्देशले सामाजिक मर्यादा उल्लङ्घन गरेको आरोप लगाएको छ। उजुरीमा भनिएको छ, ‘महोदय, उपरोक्त विषयमा पछिल्ला दिनहरूमा युट्युब, टिकटक लगायत सामाजिक सञ्जालहरूमा केही गीत–संगीतका सामग्रीहरू अत्यन्तै अमर्यादित, भइरहे को पाइएको छ। यस प्रकारका गीत–संगीतले युवा पुस्तामा नकारात्मक प्रभाव पार्नुका साथै समाजमा अपसंस्कृति प्रवद्र्धन गरिरहेको देखिन्छ। सामाजिक सञ्जालमार्फत फैलाइएका यस्ता सामग्रीहरू नेपाली कला र संस्कृतिको नाममा व्यावसायिक लाभको उद्देश्यले बनाइएको देखिन्छ, जसले हाम्रो मौलिकता, भाषा र सामाजिक मूल्य मान्यतालाई क्षति पुर्याइरहेको छ।’

उनीहरूले विशेषगरी किशोर-किशोरी र युवा पुस्तालाई लक्षित गर्दै निर्मित यस्ता गीतले नकारात्मक सोच र व्यवहार जन्माउने भन्दै चिन्ता व्यक्त गरेका छन्।

उजुरीमा यी गीतहरूमा अभिनय गरेका कलाकार तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठविरुद्ध कानुनी कारबाही गर्न माग गरिएको छ। भिडियो र रीलमार्फत सामाजिक सद्भाव भड्काउने शैलीमा प्रस्तुति दिएको भन्दै उनीहरूलाई पनि जिम्मेवार ठहर गरिनु पर्ने उल्लेख छ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यस्ता विषयहरूमा सृजनात्मक स्वतन्त्रताको नाममा सांस्कृतिक मूल्यहरूमाथि प्रहार हुन नदिन सम्बन्धित निकाय संवेदनशील हुनुपर्ने बताएको छ। 

असार २९, २०८२ आइतबार १९:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।