‘मुनामदनको ब्रेकअप’ निर्माण गर्दै ‘गोपी’ टिम, राज कटुवाल अनुबन्धित

‘मुनामदनको ब्रेकअप’ निर्माण गर्दै ‘गोपी’ टिम, राज कटुवाल अनुबन्धित

काठमाडौं : सात वर्षअघि ‘गोपी’ फिल्म निर्माण गरेको टिमले नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ निर्माण गर्ने घोषणा गरेको छ। फिल्मको कार्यकारी निर्माता श्रीधर पौडेल रहनेछन् भने पटकथा सामीप्यराज तिमल्सेनाले लेख्ने छन्।

निर्देशनको जिम्मेवारी यसअघिका चर्चित फिल्म बनाइसकेका दीपेन्द्र लामाले लिएका छन्। यसबारे आइतबार जानकारी दिइएको हो। 

‘गोपी’ फिल्मले व्यवसायीक सफलता नपाए पनि सोही टिम फेरि एकजुट भएर नयाँ कथासहित आउँदै छ। निर्देशक लामाले अहिलेसम्म ‘घामपानी’, ‘छ माया छपक्कै’, ‘नाङ्गो गाउँ’ र ‘दुखी आत्मा’जस्ता छ वटा फिल्म निर्देशन गरिसकेका छन्, जसमा दुईबाहेक अधिकांश फिल्मले लगानी उठाएका छन्। पछिल्लो समय व्यस्त निर्देशकको रूपमा चिनिएका लामाका हातमा अहिले पनि केही नयाँ प्रोजेक्टहरू तयारीमा छन्।

फिल्ममा अहिलेसम्म अभिनेता राज कटुवाल मात्र अनुबन्धित भइसकेका छन्। अन्य कलाकारहरू छिट्टै तय हुने निर्देशक लामाले बताए।

सामीप्यराज तिमल्सेनाको लेखनमा तयार भएको पछिल्लो फिल्म ‘माग्नेराजा’ आगामी भदौ ६ गते प्रदर्शन हुँदैछ। उनले यसअघि लेखेका ‘जानी नजानी’ र ‘समर लभ’ जस्ता फिल्मले खासै प्रभाव जमाउन सकेका थिएनन्।

यसैबीच, कार्यकारी निर्माता श्रीधर पौडेलको लगानीमा बनेका ‘गोपी’ र ‘बहाब’ जस्ता फिल्महरू पनि व्यावसायिक रूपमा असफल भएका थिए। त्यसैले नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ उनीहरूका लागि साखको लडाइँ बन्ने देखिन्छ। निर्माण टिममा यो पटक फिल्म हिट गराउने चुनौती छ।

असार २९, २०८२ आइतबार १७:०१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।