काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, ढिलाइ भएकोमा सुनिताले मागिन माफी

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, ढिलाइ भएकोमा सुनिताले मागिन माफी

काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १७औं अधिवेशनको पहिलो बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै संचित कोषबाट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ खर्च हुने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार रहने गरी कुल बजेट प्रस्ताव गरेकी हुन्।

बजेट पेस गर्दै उपप्रमुख डंगोलले समयमै नीति, कार्यक्रम र बजेट ल्याउन नसकिएकोप्रति क्षमायाचना समेत गरिन्। उनले भनिन्, ‘समयमै नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत र नगरसभाका सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवालासमक्ष क्षमा माग्दछौं।’

उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख गरिएको समयसीमाभन्दा केही ढिला भएको स्वीकार गर्दै पछिल्ला दिनमा महानगरभित्र विश्वासको संकट, आरोप-प्रत्यारोप र तितामिठा अनुभवका कारण प्रक्रिया प्रभावित भएको बताइन्। तर उनले हाल समस्याको समाधान हुँदै गएको उल्लेख गर्दै बैठकमा सहभागी सबै जनप्रतिनिधिलाई एकढिक्का भएर अघि बढ्न आग्रह गरिन्।

‘आज हामी फेरि एकजुट भएर गरिमामय सभामा उपस्थित भएका छौं,’ डंगोलले भनिन्। 

असार २९, २०८२ आइतबार १६:४०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।