
रास्वपा पदाधिकारी विवाद : निर्वाचन आयोगले भन्यो अद्यावधिक निवेदनअनुसार हालका महामन्त्री बुर्लाकोटी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी हेरफेरसम्बन्धी अद्यावधिक प्रक्रिया अझै टुंगोमा पुगेको छैन। निर्वाचन आयोगले उक्त प्रक्रिया अध्ययन र जाँचबुझको क्रममा रहेको जनाएको छ।
रास्वपाका सदस्यहरू सितल चन्द्र धरेल, गोबिन्द प्रसाद पन्त, कैलाशबाबु शिलवाल र रामप्रसाद शिवाकोटीले आयोगमा सूचना माग गर्दै दर्ता गराएको निवेदनको आधारमा आयोगले गत शुक्रबार (२७ असार)मा जवाफ दिएको हो।
आयोगले दिएको जानकारीअनुसार पार्टीले मिति २०८१ साउन १७ मा तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई पदमुक्त गर्दै केन्द्रीय समिति हेरफेर गरेको विवरण आयोगमा पेश गरेको थियो । तर सो कारबाहीसम्बन्धी पर्याप्त प्रमाण नपुगेपछि आयोगले २०८२ जेठ २९ मा पत्राचार गरी प्रमाण माग गरेको र त्यसको जवाफमा रास्वपाले २०८२ असार ८ मा सम्बन्धित कागजात बुझाएको उल्लेख गरिएको छ।
त्यस्तै, मिति २०८२ असार ७ मा पार्टीको केन्द्रीय समितिमा भएको जिम्मेवारी हेरफेरसम्बन्धी विवरण अद्यावधिकका लागि २०८२ असार ९ मा आयोगमा निवेदन पेश गरिएको थियो। तर सो निवेदनमा त्रुटि देखिएपछि पार्टीले सोही विवरण पुनः सुधार गरी २०८२ असार १९ मा फेरि निवेदन दर्ता गरेको आयोगले जानकारी दिएको छ।
अद्यावधिक निवेदनअनुसार हाल पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झा उल्लेख छन्। आयोगका अनुसार, सो विषयमा डा. ढकालले निर्वाचन आयोग समेत विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिसकेका छन्। उक्त रिटमा पार्टीको ‘अवैधानिक बैठक’ बाट गरिएका हेरफेरहरू अद्यावधिक नगर्न माग गरिएको छ।
त्यसैले हाल रास्वपाको केन्द्रीय समिति अद्यावधिक प्रक्रिया सर्वोच्च अदालतमा विचाराधीन रहेको आयोगले स्पष्ट पारेको छ।
आयोगले सोही पत्रमार्फत पार्टीले मिति २०८२ असार ७ मा पेश गरेको हेरफेरसम्बन्धी निवेदनको प्रतिलिपि समेत मागकर्ताहरूलाई उपलब्ध गराएको छ।
असार २९, २०८२ आइतबार १६:२७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।