मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह, नेप्से ३१ अंकले बढ्यो

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह, नेप्से ३१ अंकले बढ्यो

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक भएको मौद्रिक नीतिपछि शेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ। नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ अंकले उकालो लागेर २,७६०.८० बिन्दुमा पुगेको छ।

बजारमा उत्साह देखिएसँगै बैंकिङ र लघुवित्त कम्पनीहरूको शेयरमा लगानीकर्ताको चासो देखिएको हो। आजको दिन ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार कित्ता शेयर १ लाख ५ हजार ४१५ पटक किनबेच भएका छन्। यसबाट कुल ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो, जुन पछिल्लो समयको उच्च कारोबारमध्ये पर्छ।

कारोबार भएका अधिकांश उपसमूह सकारात्मक देखिए। सबैभन्दा उल्लेखनीय वृद्धि बैंकिङ समूहमा देखियो, जसको सूचक ३.३७ प्रतिशतले उकालो लाग्यो। त्यसैगरी, लघुवित्त समूह पनि ३.५० प्रतिशतले बढेर अगाडि रह्यो। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहमा पनि सामान्य सुधार देखिएको छ।

तर, केही उपसमूह भने आज पनि रातो रहे। जलविद्युत, लगानी, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचकमा गिरावट आएको छ।

कम्पनीको प्रदर्शन हेर्दा, एनआईसी एशिया बैंक लिमिटेड र खानेपानी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन हाइड्रोपावर पर्यो, जसको शेयर मूल्य आज ९.९३ प्रतिशतले घटेको हो।

आजको कारोबार रकमको हिसाबले पनि एनआईसी एशिया बैंक लिमिटेड नै अग्रस्थानमा रह्यो। यस बैंकको ३७ करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। कारोबार संख्या अर्थात् कित्ताको हिसाबले हेर्दा भने सनराइज ब्लुचिप फन्ड सबैभन्दा अगाडि देखियो, जसका २० लाख ५४ हजार कित्ता शेयर किनबेच भए।

असार २९, २०८२ आइतबार १६:०२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।