‘स्पट फिक्सिङ’मा सफाइ पाएका आदिलसहित ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो

‘स्पट फिक्सिङ’मा सफाइ पाएका आदिलसहित ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो

काठमाडौं : तीन वर्षअघि नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा मुछिएर प्रतिबन्धमा परेका मोहम्मद आदिल आलम अदालतबाट सफाइ पाएसँगै राष्ट्रिय टिममा फर्किएका छन्। 

उक्त आरोपपछि पक्राउ परेका आलम अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए। मुद्दामा अन्तिम फैसला नहुँदा आदिलले खेल खेल्न पाएका थिएनन् । एक वर्ष अघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपमा दाबी नपुग्ने भन्दै आदिलसँगै स्पट फिक्सिङको आरोप लागेका पाँच जनालाई सफाइ दिएको थियो।

सफाइ पाएसँगै स्थानीय तथा घरेलु लिग खेल्दै आएका आलमले राष्ट्रिय टिममा कमब्याक गरेका हुन्। क्यानले टि-ट्वान्टी विश्वकपको एसिया तथा पूर्वी एसिया-प्यासेफिक छनोटका लागि आदिलसहित ३२ जना क्रिकेटरलाई प्रारम्भिक प्रशिक्षणमा बोलाइएको छ।

क्यानले आइतबार आदिलसहितको नाम सार्वजनिक गर्दै प्रशिक्षण टोली घोषणा गरेको हो। प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलोपटक प्रशिक्षण टोलीमा परेका हुन् ।

नेपालले यही अक्टोबरमा ओमानमा हुने टि-२० विश्वकप एसिया तथा पूर्वी एसिया-सेफिक छनोटमा भाग लिनेछ। छनोट प्रतियोगिताअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ भने वेस्ट इन्डिजसँग तीन खेलको टि-२० आई सिरिज पनि खेल्ने तालिका छ।

असार २९, २०८२ आइतबार १५:४१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।