खानेपानी मन्त्रीले जनतासामु झुट बोले, तत्काल कारबाही गरौं : सांसद ज्ञानेन्द्र शाही

खानेपानी मन्त्रीले जनतासामु झुट बोले, तत्काल कारबाही गरौं : सांसद ज्ञानेन्द्र शाही

काठमाडौं : राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले खानेपानी मन्त्री प्रदीप यादवमाथि तत्काल कारबाहीको माग गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणदेखि जुम्ला आन्दोलनसम्मका विषयमा गम्भीर प्रश्न उठाए।

शाहीले लामो समयदेखि उठाउँदै आएको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताए। उनले भने, ‘भिजिट भिसामा हामीले निरन्तर आवाज उठाउँदै आएका छौं। अब संसदीय छानबिन समितिको माग गर्छौं।’
त्यस्तै, उनले गत वैशाख ७ गते जुम्ला पुगेर संघीय खानेपानी तथा ढल निकास कार्यालय जुम्लामै राखिने प्रतिवद्धता जनाएका मन्त्री यादव आफैंले अहिले आएर त्यो कार्यालय हटाइएको भन्दै आक्रोश पोखे।

‘उहाँकै मिलोमतोमा कार्यालय खारेज गरिएको छ,’ शाहीले भने, ‘यहाँ विश्वास गर्ने कसलाई ? मन्त्रीहरूले पटक-पटक जनतासामु झुट बोल्न थालेका छन्। अब यस्ता मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने ?’

उनले मन्त्रिपरिषद्ले असार २५ गते गरेको निर्णय पनि खारेज गर्न माग ग । ‘चलानी नम्बर ६४७ को उक्त निर्णय खारेज होस्,’ शाहीले भने, ‘जुम्लामा अहिले आन्दोलन भइरहेको छ। ग्रामीण क्षेत्रको अधिकार काट्दै, कार्यालय सार्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्छ।’

संघीयताको नाममा गाउँ-घरको पहुँच कटौती गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै उनले केन्द्र सरकारको नीति र मन्त्रीहरूको व्यवहारप्रति गहिरो असन्तोष व्यक्त गरे।

असार २९, २०८२ आइतबार १४:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।