
‘मन्त्रीको घुस काण्डको अडियोमा आएका बा को हुन् ?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मन्त्रीसँग जोडिएको घुस अडिओ प्रकरणको गम्भीर छानबिनको माग गरेकी छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अडिओमा उल्लेख भएका पात्र र त्यसका सम्बन्धमा उठेका प्रश्नहरूमाथि छानबिन आवश्यक भएको बताइन्।
उनले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरूमा सेटिङ, किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो। आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पेलेको छ। यसको छानबिनको माग गर्छौं। सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ? अडिओमा भनिएको ‘बा’ भनेको के हुन् र?।’
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओमा भूमि व्यवस्थामन्त्रीको नाम समेत पटक-पटक उल्लेख गरिएको छ। यही अडिओलाई लिएर सांसद श्रेष्ठले ‘मन्त्रीको घुस प्रकरणमा उल्लेख गरिएका ‘बा’ को हुन् ?’ भन्दै संसद्मा प्रश्न उठाएकी हुन्।
असार २९, २०८२ आइतबार १४:३५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।