स्पेन घटनाले भिजिट भिसाको गाम्भीर्यतालाई पुष्टि गरेको रास्वपाको दाबी, ७८ सालको प्रतिवेदन देखाउँदै माग्यो प्रधानमन्त्रीको जवाफ

स्पेन घटनाले भिजिट भिसाको गाम्भीर्यतालाई पुष्टि गरेको रास्वपाको दाबी, ७८ सालको प्रतिवेदन देखाउँदै माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको आवरणमा भएको भनिएको मानव तस्करी र भिजिट भिसाको दुरुपयोग प्रकरणमा उनको जवाफ मागेको छ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई नै सम्बोधन गर्दै यस विषयमा सरकारको जवाफ र प्रधानमन्त्रीको जानकारी छ वा छैन भन्दै प्रश्न गरेकी हुन्।

सांसद श्रेष्ठले हालै स्पेनको सेभियामा भएको घटनाले सदनमा उठाउँदै आएको भिजिट भिसा प्रकरणको गम्भीरतालाई झनै पुष्टि गरेको बताइन्।

उनले यत्रो घटना सार्वजनिक हुँदा र सदनमा निरन्तर आन्दोलन भइरहँदा पनि मानव तस्कर र स्मगलरहरूलाई कुनै डर, भय वा शंकोच नदेखिएको भन्दै यसमा कसको संरक्षण र कसको अकर्मण्यता जिम्मेवार छ भनी प्रश्न गरेकी छन्।

‘सदनको गरिमा त नीलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला। देशको उच्चतम निकायको गरिमा कसले र कसरी गिराएको छ भनेर खोज्नुपर्ला नि!’, उनले भनिन्।

सांसद श्रेष्ठले फागुन २०७८ सालमा भिजिट भिसा र त्यसबाट सिर्जित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न विभिन्न मन्त्रालयका सहसचिव सम्मिलित टोलीले बुझाएको अध्ययन प्रतिवेदन माथि काम नहुँदा तस्करहरुलाई प्रोत्साहन मिलेको बताइन्।

यसै कारणले रास्वपाले यस विषयमा संसदीय समिति वा उच्चस्तरीय आयोग माग गरेको भन्दै उनले सरकारले फेरि त्यस्तै कार्यदल बनाएर कसको आँखामा छारो हालेको भनी प्रश्न गरिन्।

सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनिन्, ‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने सुशासन आयोगका प्रमुख (प्रधानमन्त्री)को पनि जवाफ चाहन्छौँ। तपाईंलाई थाहा थियो कि थिएन यो प्रतिवेदनको बारेमा?’

स्पेन घटना र प्रहरीको प्रतिक्रिया
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनका लागि असार १४ गते स्पेनको सेभिया भ्रमणमा गएका थिए।

सोही कार्यक्रमको आवरणमा गैरसरकारी संस्थाको नक्कली कागजात प्रयोग गरी केही व्यक्तिलाई युरोप पठाएको घटना सार्वजनिक भएको छ। उक्त कार्यक्रममा सहभागी हुन गएकामध्ये १० जना नेपाली स्वदेश नफर्केको र उनीहरू युरोपका विभिन्न शहरमा रहेका छन्।

दिल्लीस्थित स्पेनिस दुतावासले सम्मेलनमा जाने भन्दै भिसा आवेदन दिएका केही नेपालीको कागजात शंकास्पद पाएपछि एयरलाइन्सहरुलाई सचेत गराएको थियो।

सोही सर्तकताका कारण असार १४ गते नै युरोप जान लागेका ५५ जना र पछि ९ जना नेपाली यात्रु नक्कली कागजातका कारण दिल्ली विमानस्थलमा रोकिएका थिए। यस घटनामा गैरसरकारी संस्थाहरूको संलग्नता देखिएको आशंका गरिएको छ।

यसैबीच, नेपाल प्रहरीले स्पेन घटनामा गैरसरकारी संस्थाको आवरणमा ठगी भएको भन्दै कुनै व्यक्तिले उजुरी दिएमा अनुसन्धान गर्ने जनाएको छ

प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले अहिलेसम्म कुनै औपचारिक उजुरी दर्ता नभएको तर उजुरी आएमा निष्पक्ष अनुसन्धान गर्ने बताएका छन्। यद्यपि, सुरुमा ठगीमा परेका व्यक्तिले समेत सत्य कुरा नबताउने गरेका कारण उजुरी आउन समय लाग्न सक्ने अनुभव उनले सुनाएका छन्।

असार २९, २०८२ आइतबार १३:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।