स्पेन प्रकरणमा प्रधानमन्त्रीको पहिलो प्रतिक्रिया- ‘अराजकतावादी पार्टीले घटिया कुरा गरे, जवाफ दिन आवश्यक ठान्दिनँ’

स्पेन प्रकरणमा प्रधानमन्त्रीको पहिलो प्रतिक्रिया- ‘अराजकतावादी पार्टीले घटिया कुरा गरे, जवाफ दिन आवश्यक ठान्दिनँ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको स्पेनमा आफू सहभागी कार्यक्रममा नेपालबाट गएका १० जना नफर्किएको विषयमा प्रतिक्रिया दिएका छन्।

गृहजिल्ला झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा भइरहेको प्रचारलाई ‘झुट र घटिया राजनीति’को संज्ञा दिँदै कडा खण्डन गरेका छन्। उनले यस्तो प्रचारमा कुनै सत्यता नभएको दाबी गर्दै विरोधीहरूले आफ्नो सफल भ्रमणलाई ओझेलमा पार्न खोजेको आरोप लगाए।

पछिल्लो समय प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएका १० जना व्यक्ति नफर्केको विषयमा उकेराले नामसहित समाचार प्रकाशित गरेको थियो। यही विषयमा प्रधानमन्त्री ओलीले झापाबाट पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले यो विषय सदनमा उठाएर अनुसन्धान गर्नुपर्ने माग गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले स्पेनमा मान्छे छाडेर आयो भन्ने प्रचारलाई उनले वाहियात, घटिया, र आधारहीन भन्दै खारेज गरे।

‘हाम्रो स्पेन भ्रमणको भूमिमा अन्त्यन्त राम्रो भयो। त्यो सहन नसकेर केही अपोजिसन र अराजकतावादी पार्टीहरूले, झुटवादीहरूले मान्छे छोडेर आयो भन्नेजस्ता वाहियात र घटिया कुराहरू पनि गरिएको छ,’ उनले भने, ‘योजनाबद्ध ढङ्गले यस्ता प्रचारहरू गरिएको छ। त्यो हुनसक्ने र प्रमाणित गर्न सकिने कुरा हो? प्रमाण भनेर कराएका छन्।’

प्रधानमन्त्री ओलीले यसलाई राजनीतिका नाममा गरिने ‘अत्यन्तै घटिया राजनीति’ भएको टिप्पणी गरे। उनले यस्ता आधारहीन र झुटमा आधारित कुराहरूको जवाफ दिन पनि आवश्यक नठानेको बताए।

‘त्यति घटिया राजनीति राजनीतिका नाममा गर्न हुँदैन। यो घटिया राजनीति हो। म त्यस्ता कुराहरूको जवाफ दिन पनि आवश्यक ठान्दिनँ। म तिनीहरूलाई सप्रिन मात्र भन्न चाहन्छु’, उनले थपे।

प्रधानमन्त्री ओलीले आफूमाथि जहिल्यै झुटो आरोप लगाइने गरिएको गुनासो गर्दै झुटमा आधारित प्रचार धेरै समय नटिक्ने पनि बताए।

‘जहिल्यै पनि झुट बोल्या छ, झुट बोल्या छ, झुट बोल्या छ। यस्ता कुराहरू कति समय टिक्छ?’, उनले प्रश्न गरे।

असार २९, २०८२ आइतबार १२:५४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।