
तेलुगु अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन

एजेन्सी : दक्षिण भारतीय सिनेमाका अनुभवी अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ।
आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित आफ्नै निवासमा उनले अन्तिम सास फेरे। उनको निधनले दक्षिण भारतीय फिल्म उद्योगमा गहिरो शोक छाएको छ र यसलाई ठूलो क्षति मानिएको छ। उनी विगत केही दिनदेखि बिरामी थिए र उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले कोटा श्रीनिवास रावको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै नायडूले रावको निधनले फिल्म उद्योगका लागि अपूरणीय क्षति भएको बताएका छन्।
नायडूले रावको बहुमुखी अभिनय क्षमता र विभिन्न भूमिकामार्फत दर्शकको मनमा बनाएको स्थानको प्रशंसा गर्दै उनको कलात्मक योगदान अविस्मरणीय रहने बताए। मुख्यमन्त्री नायडूले रावको राजनीतिक जीवनको पनि स्मरण गर्दै सन् १९९९ मा विजयवाडाबाट विधायकका रूपमा उनको योगदानको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
‘उनले खलनायक, हास्य र चरित्र भूमिकामार्फत दर्शकको मनमा बलियो स्थान बनाए। उनको बिदाइ तेलुगु फिल्म उद्योगको लागि ठूलो क्षति हो’, नायडूले लेखेका छन्।
करिब चार दशक र ७५० भन्दा बढी चलचित्रहरूको यात्रा
सन् १९४२ जुलाई १० मा आन्ध्र प्रदेशको कृष्णा जिल्लाको कान्कीपाडुमा जन्मेका कोटा श्रीनिवास रावले सन् १९७८ मा फिल्म ‘प्रणम खरिदु’ बाट अभिनय यात्रा सुरु गरेका थिए।
करिब चार दशक लामो करियरमा उनले तेलुगु, तमिल, हिन्दी, कन्नड र मलयालम गरी ७५० भन्दा बढी चलचित्रमा काम गरे। उनले मुख्यतया खलनायक, सहायक अभिनेता, हास्य कलाकार र चरित्र भूमिकामार्फत आफ्नो सशक्त छाप छोडेर अभिनयलाई नयाँ आयाम दिए।
अभिनयमा उनको उल्लेखनीय योगदानका लागि उनलाई थुप्रै पुरस्कारबाट सम्मानित गरिएको थियो। उनले उत्कृष्ट अभिनयका लागि ९ पटक प्रतिष्ठित ‘नन्दी पुरस्कार’ जितेका थिए। सन् २०१५ मा भारत सरकारले उनलाई देशको प्रतिष्ठित ‘पद्मश्री’ सम्मानबाट विभूषित गरेको थियो।
उनका केही चर्चित तेलुगु चलचित्रहरूमा ‘आहना पेलान्ता!’, ‘यमुदिकी मोगुडु’, ‘शिवा’, ‘बोम्मारिल्लु’, ‘दम्मू’, ‘सन अफ सत्यमूर्ति’ लगायत पर्दछन्। उनले अन्य भाषाहरूमा पनि उत्तिकै प्रभाव छोडे। उनले हिन्दीमा ‘सरकार’, ‘रक्त चरित्र’, ‘बागी’ जस्ता फिल्ममा समेत अभिनय गरे र ‘सरकार’ मा उनको भूमिकाको अमिताभ बच्चनले समेत प्रशंसा गरेका थिए। तमिलमा उनले ‘सामी’, ‘थिरुपाची’, ‘को’ लगायत करिब ३० फिल्ममा काम गरे भने कन्नड र मलयालम फिल्महरूमा पनि उनको उपस्थिति रह्यो।
कलासँगै राजनीतिमा पनि सक्रिय रहेका राव सन् १९९९ देखि २००४ सम्म विजयवाडा पूर्वी निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) को तर्फबाट विधायकका रूपमा कार्यरत थिए।
असार २९, २०८२ आइतबार ११:३९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।