माटोको मिठास, पौरखको सुगन्ध : पाँचथरको ४० रोपनीमा गोलभेँडा फलाउँदै कमल

माटोको मिठास, पौरखको सुगन्ध : पाँचथरको ४० रोपनीमा गोलभेँडा फलाउँदै कमल

पाँचथर : शहरको जगमगाहट र विदेशको चम्किलो मोहमा अधिकांश युवाहरू तानिइरहँदा, पाँचथरको याङवरक गाउँपालिका-६, रमितेका २७ वर्षीय कमल तिम्सिनाको मन भने माटोमै रमाएको छ। आकर्षक रोजगारीका लागि विदेशिने सपनालाई त्यागेर उनी गाउँकै कान्ला खोल्सामा पसिना बगाइरहेका छन्, माटोमै सुन फलाउने धुनमा।

कमलको दैनिकी यतिबेला निकै व्यस्त छ। बारीमा लटरम्म पाकेका गोलभेँडा टिप्ने, डोकोमा बोकेर बाटोसम्म पुर्याउने र बजार पठाउने चटारोले उनको परिवारलाई भ्याइनभ्याइ बनाएको छ। बीस रोपनी क्षेत्रफलमा लगाएको गोलभेँडाको एउटा ‘टिपाइ’ नसकिँदै अर्को टिपाइका लागि बिरुवा तयार भइसक्छ।

‘आजभोलि सधैँभन्दा धेरै काम हुन्छ, गाह्रो पनि। अरु बेला त काम त गर्नुपर्छ तर यति धेरै र दबाबको हुँदैन,’ हत्केलाले निधारको पसिना पुछ्दै कमल भन्छन्, ‘गाउँघरमा कामले भने कहिल्यै विश्राम लिँदैन।’

तिम्सिना परिवारको पौरख याङवरक-६ रमिते र हिलिहाङ गाउँपालिका-१ फेदापा गरी करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। यो जग्गा केही उनीहरूको आफ्नै हो भने केही भाडामा लिएका हुन्।

यो फराकिलो करेसाबारीमा गोलभेँडा मात्र होइन, खुर्सानी, सुन्तलाजस्ता नगदेबालीहरू लहलह फलेका छन्। दुवैतिर घर छन् जहाँ पशुपालन पनि सँगसँगै चलेको छ।  पाँच जनाको परिवार मिलेर खेतबारीदेखि गोठसम्मको काम भ्याउँछन्।

‘हामी सबै जना मिलेर काम गर्छौं,’ कमल सुनाउँछन्, ‘सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ। परिवारसँगै बसेर दुःख-सुख बाँड्न पाउनु नै ठूलो कुरा हो।’

आजभन्दा ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको तिम्सिना परिवारले मेची राजमार्ग नजिकैको यो उर्वर भूमिमा व्यावसायिक रूपमा गोलभेँडा खेती गर्न थालेको १० वर्ष भयो। यो एक दशक उनीहरूका लागि गोलभेँडाको मूल्यजस्तै कहिल्यै माथि त कहिल्यै निकै तल झरेको बजारको अनुभव सँगाल्ने पाठशाला बन्यो।

एक टिपाइमा २० देखि ६० क्यारेट (औसतमा २३ केजी प्रति क्यारेट) सम्म गोलभेँडा उत्पादन गर्ने यो परिवारले एकै बिरुवाबाट तीनदेखि सात पटकसम्म फल टिप्छन्।

बजारमा गोलभेँडाको मूल्य कहिल्यै स्थिर रहँदैन। कहिलेकाहीँ त किसानको मन अमिलो बनाइदिने गरी भाउ ओरालो लाग्छ। दश वर्षको यात्रामा उनीहरूले प्रतिकिलो दुई रुपैयाँ ५० पैसासम्ममा गोलभेँडा बेच्नुपरेको तीतो अनुभव पनि बटुलेका छन् भने कहिलेकाहीँ प्रतिकिलो ७० रुपैयाँसम्ममा बेच्दा मन खुसीले गदगद भएको क्षणहरू पनि छन्।

‘गोलभेँडाबाट २० रुपैयाँ वा सोभन्दा बढी दाम आयो भने घाटा लाग्दैन,’ कमल हिसाब सुनाउँछन्, ‘३० रुपैयाँभन्दा बढी मूल्यमा बिकेको समयमा मात्रै राम्रो आम्दानी र बचत हुन्छ।’

मूल्यको उतारचढाव किसानका लागि सधैँको चुनौती हो। बजार कहिलेकाहीँ निर्मम बनिदिन्छ। तर, तिम्सिना परिवारले कहिल्यै हिम्मत हारेनन्।

‘मूल्य कम भए पनि हामीलाई ठीकै छ गोलभेँडाबाट, हामी सन्तुष्ट छौँ’, कमलको अनुहारमा धैर्यता झल्किन्छ। यस वर्ष उनीहरूले आठ हजार खुर्सानी र छ हजार गोलभेँडाका बिरुवा लगाएका छन्। सबै खर्च कटाएर पनि वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको उनले सुनाउँदा उनको पौरखप्रतिको गर्व स्पष्ट देखिन्थ्यो।

यहाँ गोलभेँडा फागुन, चैत र भदौमा गरी दुईपटक लगाइन्छ। पहाडमा रोग कीराको समस्या अत्यधिक हुने भएकाले सामान्य विषादीको प्रयोग गर्नुपरेको बाध्यता किसानहरू सुनाउँछन्। उत्पादनले उचित मूल्य नपाए पनि बजार भने पाइरहेका छन्। यस क्षेत्रका अधिकांश किसानहरूले आफ्ना उत्पादन प्रायः एकै व्यवसायीलाई बिक्री गर्छन्, जसले गर्दा मूल्य कम भए पनि उत्पादित सामग्री खेतबारीमै खेर जानु पर्दैन।

कमलले विदेश जाने कुरा नसोचेका होइनन्। आकर्षक रोजगारीको लोभ उनलाई पनि लागेको थियो। तर, विदेश जानका लागि लाग्ने धेरै लगानीको कुरा सुन्दा उनको मन गाउँमै अडियो।

‘विदेश जानचाहिँ खोजेको हुँ तर पछि मन लागेन,’ उनी भन्छन्, ‘लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ। गाउँमा पनि आम्दानी ठिकै थियो, परिवारसँगै बसेर केही आम्दानी हुँदैछ भने किन विदेश जाने भन्ने लाग्यो।’

कमलको यो निर्णयले उहाँकी आमा टीकादेवी तिम्सिनालाई खुसी तुल्याएको छ।

‘विदेश गए पनि दुःख उत्तिकै गर्नुपर्छ होला जस्तो लाग्छ,’ आमा टीकादेवी भन्छिन्, ‘विदेश जाँदा पैसाचाहिँ अलि बचत हुन्थ्यो होला। यहाँ जति आम्दानी भए पनि बचाउन मुस्किल पर्छ। तर घरमै बसेर पनि केही आम्दानी त भइरहेकै छ। छोरा सँगै भएपछि ढुक्क भइन्छ।’

यो क्षेत्रका अधिकांशले तरकारी खेती गर्छन्। प्रत्येक घरले दुईदेखि तीन पिकअप गोलभेँडा उत्पादन गर्ने गरेको कमलका छिमेकी दिलबहादुर राई सुनाउँछन्। उत्पादन राम्रो हुँदा पनि कृषि उपजले उचित मूल्य नपाउँदा बेलाबखत किसानहरू निराश हुने गरेको राई बताउँछन्।

गत वर्ष प्रतिकिलो १३० रुपैयाँमा बिक्री भएको खुर्सानी अहिले ३० रुपैयाँमा झरेको छ। खुर्सानी टिप्ने कामदारलाई एक दिनमा ४० किलो टिपेको पाँच सय रुपैयाँ ज्याला दिनुपर्छ। यो हिसाबले त अहिले खुर्सानीले साँवा पनि नउठाउने स्थिति रहेको कमलले सुनाउँछन्।

‘अहिले खुर्सानीले साँवा पनि नउठाउने स्थिति छ,’ पीडामिश्रित स्वरमा उनी भन्छन्, ‘गोजीको पैसा लगाएर भए पनि बारीमा लगाएको खुर्सानी खेर जान दिनु भएन। बजारमा पठाउनु त पर्यो नै। अहिले किसानलाई साँच्चै गाह्रो छ।’

चुनौतीहरूका बाबजुद पनि कमल र उनको परिवारले माटोप्रतिको विश्वास गुमाएका छैनन्। माटोमा पसिना सिञ्चित गरेपछि त्यसले प्रतिफल दिन्छ भन्ने कुरामा उनीहरू ढुक्क छन्। बजारको उतारचढाव र मूल्यको निर्ममता सहेर पनि उनीहरूको पौरख रोकिएको छैन।

विदेशको सपनालाई माटोको सुगन्धसँग साटेका कमल तिम्सिना र उनको परिवार पाँचथरका पाखा पखेरामा कर्मको खेती गरिरहेका छन्, जहाँ गोलभेँडा मात्र होइन, स्वाभिमान र सन्तुष्टिका दानाहरू पनि सँगसँगै फल्दैछन्।

राससको समाचार पुनर्लेखन गरिएको

असार २९, २०८२ आइतबार ११:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।