
च्याँखे थापेर पटक-पटक प्रधानमन्त्री बने पनि प्रचण्डले माखो मार्न सकेनन् : डा. भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ च्याँखे थापेर पटक-पटक सत्तामा पुगे पनि देशका गम्भीर संरचनात्मक समस्या समाधानमा कुनै माखो मार्न नसकेको टिप्पणी गरेका छन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै डा. भट्टराईले संसदका दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको एक वर्षको सबैभन्दा ठूलो उपलब्धि भनेकै पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता र पर्यावरण विनाशजस्ता गम्भीर संरचनात्मक समस्याहरू हल गर्न सक्दैनन् भन्ने कुरा जनतालाई व्यवहारमै प्रमाणित गरिदिनु रहेको बताएका छन्।
उनले तेस्रो ठूलो दलका एकल सुप्रिमोले पटक-पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर समस्या समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यैदेखि देखिसकिएकै विषय भएको उल्लेख गरेका छन्।
उनले भने, ‘तेश्रो ठूलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो।’
यो स्थितिमा नेपाली इतिहासको ‘कोर्टको बल’ अब ढिलोछिटो नयाँ र वैकल्पिक शक्तिहरूको हातमा आउने निश्चित भएको उनको भनाइ छ। उनले अबको राजनीतिक विमर्श उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ भन्नेतर्फ सोझिनुपर्नेमा जोड दिएका छन्।
डा. भट्टराईले सबैलाई आ-आफ्नो छातीमा हात राखेर सोच्न समेत आग्रह गरेका छन्।
डा. भट्टराई र प्रचण्ड माओवादी पार्टी स्थापनाकालदेखिका सहयात्री हुन्। २०७२ सालमा संविधान बनेपछि भट्टराईले माओवादी छाड्दै नयाँ र वैकल्पिक शक्ति बनाउने भन्दै लागेका छन्। तर, जनताले उनलाई पत्याएका छैनन्।
असार २९, २०८२ आइतबार १०:०५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।