अमेरिकाद्वारा युक्रेनलाई सैन्य सहायता पुनः सुरू, प्याट्रियट वायु रक्षा प्रणाली नेटोमार्फत उपलब्ध हुने

अमेरिकाद्वारा युक्रेनलाई सैन्य सहायता पुनः सुरू, प्याट्रियट वायु रक्षा प्रणाली नेटोमार्फत उपलब्ध हुने

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई सैन्य आपूर्ति पुनः सुरू गरेको बताएका छन्। गत हप्ता केही महत्त्वपूर्ण हतियारहरूको आपूर्ति रोकिँदा युक्रेनको प्रतिरक्षा क्षमतामा चिन्ता थपिँदा अमेरिकाले हतियारको आपूर्ति पुन: थालेको हो।

राष्ट्रपति जेलेन्स्कीले सैन्य सहायताको पुनः सुरुवातको पुष्टि गर्दै यसले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका लागि ठूलो राहत मिलेको बताएका छन्। आपूर्तिमा आएको छोटो अवरोधले युक्रेनमा हतियारको भण्डारणमा कमी आउन सक्ने र फ्रन्टलाइनमा रहेका सैनिकहरूलाई असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस रणनीतिक कदमको पुष्टि गर्दै युक्रेनले नेटोमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली प्राप्त गर्ने एउटा सम्झौता भएको बताएका छन्। ट्रम्पले बिहीबार एनबीसी न्यूजसँगको कुराकानीमा यो सम्झौता नेटोसँग भएको जानकारी दिए।

रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारेको अवस्थामा प्याट्रियट जस्तो अत्याधुनिक वायु रक्षा प्रणालीको आवश्यकता युक्रेनलाई खड्किएको थियो। विशेषगरी, किभ र अन्य प्रमुख शहरहरूमा रुसी मिसाइल र ड्रोन आक्रमणको जोखिम बढेकाले युक्रेनले आफ्ना आकाश सुरक्षित गर्न थप प्रतिरक्षा प्रणालीको माग गर्दै आएको थियो।

राष्ट्रपति जेलेन्स्कीले यसअघि हतियारको आपूर्ति बन्द भएमा युक्रेनको सुरक्षामा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका थिए। अमेरिकी सैन्य सहायता रुससँगको युद्धमा युक्रेनको प्रतिरोधका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

अमेरिकी प्रशासनले सैन्य आपूर्तिको पुनः सुरुवात र प्याट्रियट प्रणालीको उपलब्धता सुनिश्चित गर्ने दिशामा काम गरिरहेको बताइएको छ। यद्यपि, ट्रम्पको भनाइअनुसार प्याट्रियट प्रणालीको आपूर्ति सीधै अमेरिकाबाट नभई नेटो गठबन्धनमार्फत हुने देखिन्छ, जसले वितरण प्रक्रियामा केही परिवर्तन आउन सक्ने संकेत गर्छ।

असार २९, २०८२ आइतबार ०९:३०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।